विराटनगर । विराटनगर महानगरपालिकाको न्यायिक समितिले आर्थिक वर्ष २०७९/०८० मा ८८ प्रतिशत उजुरी फछ्र्यौट गरेको छ । समितिमा दर्ता भएका कुल २ सय ३७ उजुरीमध्ये २ सय ९ वटा फछ्र्यौट भएको हो ।
दर्ता भएकामध्ये ८८ दशमलव १९ प्रतिशत मुद्दा फछ्र्यौट गरिएको महानगरकी उपमेयरसमेत रहेकी न्यायिक समितिकी संयोजक शिल्पा निराला कार्कीले जानकारी दिइन् । कार्कीका अनुसार सबैभन्दा बढी वडानम्बर १२ बाट २१ र १८ नम्बरबाट ३ वटा उजुरी दर्ता भएको छ ।
साँधसिमानासम्बन्धी ५५, महिला तथा घरेलु हिंसासम्बन्धी २९, श्रीमान्–श्रीमती विवादसम्बन्धी २९ उजुरी परेको छ । त्यस्तै खान लगाउन नदिएको, कुटपिट, दाइजो, लेनदेनसम्बन्धी पनि उजुरी पर्ने गरेको कार्कीले बताइन् । गत आर्थिक वर्षमा दर्ता भएका उजुरीमध्ये २८ वटा मात्रै फछ्र्यौट हुन बाँकी छ ।
दर्ता भएकामध्ये समितिले ३९ वटा जिल्ला अदालत मोरङमा पठाएको छ । त्यस्तै ४४ वटा मिलापत्र भएको छ । ‘६ वर्षयताकै सबैभन्दा धेरै उजुरीको निर्णय हामीले गरेका छौं’ उपमेयर कार्कीले भनिन, ‘मिलेसम्म मिलापत्र गराउँछौँ, हामीले धेरै प्रयास गर्दा पनि नमिले अदालत पठाउँछौं ।’
अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा २ सय १० वटा उजुरी दर्ता भएकोमा १ सय ७५ वटा उजुरीको निर्णय भएको उपमेयर कार्कीले जानकारी दिइन् ।