झापा । मेचीनगर नगरपालिकाले सहर तथा ग्रामीण क्षेत्रका अव्यवस्थित तार हटाउन केबुल तथा इन्टरनेट कम्पनीलाई निर्देशन दिएको छ ।

नगरपालिकाका प्रमुख गोपाल बुढाथोकीले केबुल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधिलाई बोलाएर बिहीबार उक्त निर्देशन दिइएको जानकारी दिए ।

काँकडभिट्टा, धुलाबारी, इँटाभट्टा, चारआली, धाइजन, बाहुनडाँगी, ज्यामिरगढी, दुहागढीलगायतका स्थानका अव्यवस्थित तार व्यवस्थित गर्न निर्देशन दिइएको उनको भनाइ छ ।

‘सहर, बजार र सडकभरि जताततै केबुल र इन्टरनेट कम्पनीका तार लत्रिएका छन्, यसले मानिस तथा सवारीको आवागमनमा बाधा पुगेको छ’ उनले भने, ‘आफँै जानेर व्यवस्थापन गर्नुपर्ने हो ।

लापरबाहीको हद भएपछि नगरपालिका अब ‘एक्सन’ मा उत्रिनु परेको हो ।’ तत्काल तार व्यवस्थित नगरिए नगर प्रहरी प्रयोग गर्ने उनको भनाइ छ । 

नेपाल टेलिकम काँकडभिट्टाका प्रमुख काजिमान विश्वकर्माले अनुमति र सम्झौता नगरी केबुल तथा इन्टरनेट प्रदायक कम्पनीहरूले नेपाल टेलिकम तथा विद्युत्को खम्बामा जथाभावी तार टाँगेर व्यवसाय सञ्चालन गरिरहेको आरोप लगाए ।

‘केही कम्पनीले सम्झौता मात्रै गरेका छन्, शुल्क बुझाएका छैनन्’ उनले भने, ‘अधिकांश कम्पनीले आफूखुसी टेलिकम र विद्युत्को पोल प्रयोग गरिरहेका छन् ।

पटक–पटक पत्राचार गर्दा पनि सम्झौता र रोयल्टी तिर्न अटेर गरेका छन् ।’ मेचीनगर क्षेत्रमा नेपाल टेलिकम र नेपाल विद्युत् प्राधिकरणको खम्बा प्रयोग गरेबापत केबुल तथा इन्टरनेट कम्पनीले वार्षिक १८ करोडभन्दा बढी रकम तिर्न बाँकी रहेको उनको भनाइ छ । 

गुजुल्टिएका तथा लत्रिएका तारका कारण आगलागी हुने र  सहरी सौन्दर्यसमेत बिग्रने हुनाले व्यवस्थित गर्न निर्देशन दिइएको नगरपालिकाका उपप्रमुख मीना उप्रेतीले बताइन् ।