भद्रपुर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) उद्योगबाट निस्कने फोहोर पानीले करिब सय घर परिवार पीडित बनेका छन् ।

मेचीनगर–७ स्थित सञ्चालित डेरी उद्योगबाट निस्किने फोहोर पानीले दुई वटा टोलका एक सय परिवार दुर्गन्धित बनेका हुन् । उद्योगबाट केमिकल सहितको सेतो फोहोर पानीले इच्छा टोल विकास र जोरसिमल टोल विकास समितिका स्थानीय पीडित बनेका छन् ।

वडा नम्बर ७ का मेलमिलाप समितिका सदस्य एवम् जोरसिमल टोलका स्थानीय नरपति काफ्लेले डेरीबाट निस्किएको फोहोर मुख्य राजमार्ग छेउको कल्भर्ट  मुनीको नालीमा सिधै पाइप लगाएर खसाल्ने गरेको बताए । नालीमा खसालेको फोहोर पानी दक्षिणतिर बगेर गाउँमा पुग्ने गरेको बताए ।

फोहोर पानीको व्यवस्थापनका लागि पटक–पटक नगरपालिका गए पनि सुनुवाइ नभएको काफ्लेको आरोप छ । न्यायिक समितिमा दुवै पक्ष बसेर छलफल गरी निर्णयमा पुग्दा पनि डेरीले कार्यान्वयन नगरेको उनले आरोप लगाए ।

नालीमा औषधि छिट्ने, दीर्घकालीन समाधान लगायतको व्यवस्थापन गर्न डेरीलाई न्यायिक समितिले सुझाव दिइएको थियो । तर, सो निर्णय कार्यान्वयन नभएकोमा स्थानीय टोलवासीहरू चिन्तित बनेका छन् ।

नाली छेउ घर भएकी स्थानीय मुना खड्काले डेरी उद्योग नहुँदा समस्या थिएन तर डेरी आएपछि घरमा सबै बिरामी हुन थालेको बताइन् । सधैँ नालीमा फोहोर आउन थालेपछि गन्हाएर घरमा बसिसक्नु नभएको उनले पिँडा सुनाइन् । मौरीको गोला जस्तै लामखुट्टे घर भरी आएका कारण टोकेर ७ वर्षको छोरा बिरामी परेको उनको भनाइ छ  । केमिकल जस्तो गन्ध धेरै आउने गरेको उनले बताइन् ।

रातदिन पिँडा बोकेर बाँचिरहेको स्थानीय बमबहादुर खड्काले बताए । डेरी उद्योग र नगरपालिका धेरै पटक गए पनि अहिलेसम्म सुनवाइ नभएको उनको भनाइ छ । वर्षमायामा अलिक कम गन्हाउँछ । तर लामखुट्टेले नछाडेको साथै चैत र वैशाख तथा गर्मीको समयमा गन्हाएर घरमा बस्न नसकिने उनले बताए ।

एनएमसीका निवर्तमान वरिष्ठ उपाध्यक्ष एवम् डेरी उद्योग समितिका संयोजक नारायण कोइरालाले ट्रिटमेन्ट प्लान्ट बिग्रेका कारण फोहोर पानी व्यवस्थापनमा समस्या भएको बताए ।

मेचीनगर–८ का वडा सदस्य एवम् न्यायिक समितिका सदस्य कुन्दन निरौलाले दुई महिनाअघि दुवै पक्षलाई राखेर यस विषयमा न्यायिक समितिमा छलफल भएको बताए । समितिले डेरीलाई ७ दिनभित्र फोहोर पानी व्यवस्थापन गर्न निर्देशन दिएको उनले बताए ।

गाउँले र डेरी उद्योगबिच चित्त बुझ्दो सहमति गरी दिगो समाधान गरिनु पर्ने  डेरीका कार्यालय प्रमुख नवराज अधिकारीले बताए । 

 डेरी उद्योगले गाउँ नै दुर्गन्धित हुने गरी नालीको पानीमा फोहोर फाल्नु गैर कानुनी काम भएको मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले बताए । फोहोरलाई सम्बन्धित पक्षले नै व्यवस्थापन गर्नु पर्ने उनको भनाइ छ  । दुवै पक्षलाई बोलाएर छलफलबाट समस्याको समाधान खोजिने उनले जानकारी दिए ।