भद्रपुर । झापाको कनकाईमा पानी बोकेको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका– १ निवासी अन्दाजी ३० वर्षीय कुमार दर्जी रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
पूर्व–पश्चिम राजमार्ग अन्तरगत कनकाई नगरपालिका– १ स्थित दुर्गापुरमा बिहीबार बिहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र–१–०१–०० १च ७४०७ नम्बरको छोटा हात्ती गाडी र विपरीत दिशाबाट जाँदै गरेको प्र–१–०१–०१६ प ५०९८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका दर्जीलाई तत्काल उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोडमा पुर्याउन साथ चिकित्सकले मृत घोषित गरिदिएको डीएसपी रिजालले बताए । दुवै सवारीसाधनसहित गाडी चालक कनकाई नगरपालिका– ४ निवासी ३३ वर्षीय पशुपति ओलीलाई इलाका प्रहरी कार्यालय सुरुङगाले नियन्त्रणमा लिएको छ ।
यसैक्रममा दुर्घटना स्थलमा समाचार सङ्कलन गर्न पुगेका स्थानीय पत्रकार सीएम शर्मालाई सादा पोसाकमा रहेका प्रहरीले दुव्र्यवहार गरेका थिए । पत्रकार शर्माले फोटो खिच्ने क्रममा उनको मोबाइल फोन प्रहरीले खोस्ने प्रयास गरेपछि केहीबेर विवाद उत्पन्न भएको थियो ।