धरान । सुनसरीको इटहरीमा सुनचाँदी बनाउने मजदुर लालबहादुर विश्वकर्मालाई न्यायको माग गर्दै आफन्तलगायतले प्रदर्शन गरेका छन् । 

इटहरी उपमहानगरपालिका अगाडि स्थानीय तथा राजनीतिक अभियन्ताले बुधबार बिहान प्रदर्शन गरेका हुन् । लालबहादुर ठगी तथा बङ्ैकिङ कसूर मुद्दामा हाल कारागारमा छन् ।

इटहरीको तरहरास्थित सिंहदेवी ज्वेलर्समा कामदारका रूपमा रहेका लालबहादुरलाई फसाएको पत्नी दिलकुमारीको आरोप छ । दीपक गजमेरले सञ्चालन गरेको ज्वेलर्समा सहकारीले झैँ पासबुक बनाई स्थानीयको १८ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोप छ ।

उक्त मुद्दामा प्रतिवादी रहेका लालबहादुरलाई सुनसरी जिल्ला अदालतले डेढ वर्ष कैद र ७० हजार रुपैयाँ जरिबाना गरेको छ । अदालतको आदेशमा ठगी गरेको रकममध्ये चार करोड ७१ लाख रुपैयाँ उनको दायित्वमा रहने गरी आदेश गरेको थियो । 

पत्नी दिलकुमारीका अनुसार उक्त ज्वेलर्समा कामदारको रूपमा रहेका पतिले रकम ठगी नगरेको दाबी गरिन् । उक्त विषयमा उच्च अदालत विराटनगरमा एक वर्षअघि नै पुनरावेदन गरे पनि हालसम्म बारम्बार पेशी सर्दै आएको बताइन् ।

ज्वेलर्सका सञ्चालक दीपकले दुई सय ७५ जना सर्वसाधारणको १८ करोड ८४ लाख ६६ हजार ८ सय ८९ रुपैयाँ ठगी गरेको आरोप छ । अदालतले दुवैलाई बैङ्किङ कसूरमा आदेश सुनाएको थियो । पत्नी दिलकुमारीले पतिलाई न्याय नदिएको आरोप लगाइन् ।