धरान । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकरिद (इदुल अजहा) आज (बिहीबार) मनाउँदै छन् ।
यो पर्व इदुलफित्रपछिको दोस्रो ठूलो पर्व हो । यो इदुलफित्रको ७० औँ दिनमा मनाउने गरिन्छ । यस दिन आफ्नो गच्छेअनुसार बाख्रा, बोका काटेर आफू पनि खाने र अरूलाई पनि बाँड्ने गरिन्छ ।
आर्थिक रूपमा सबल भएका मानिसहरू भने हजका लागि साउदी अरबको मक्का मदिना जाने गर्दछन् । विभिन्न जनावरलाई बलि दिने गरिन्छ । बलि दिएको मासुलाई तीन भागमा बाँडेर वितरण गरिने गरिएको धरानका फिरोज अलीले जानकारी दिए । उनका अनुसार एक भाग गरिब एवम् विपन्न परिवारलाई, अर्को भाग इष्टमित्रलाई र एक भाग आफू खानुपर्ने धार्मिक मान्यता रहेको छ ।
सङ्घीय सरकारले बकरिदको अवसरमा सार्वजनिक बिदा दिएको छ । मुस्लिम आयोगले बिदाको माग गरेको थियो । यसैबीच कोशी प्रदेश सरकारले बकरिदको अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीहरूलाई शुभकामना दिएको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुभकामना सन्देश दिँदै लेखेका छन्, ‘मुस्लिम समुदायमा आपसी सद्भावको चाडको रूपमा मनाइने यो पर्वले सबै नेपालीबीच बन्धुत्वको भावना बढाउन, सामाजिक सद्भाव अभिवृद्धि गर्न तथा सहकार्यको बाटोमा अघि बढ्न प्रेरित गरेको छ । यो पर्वले आगामी दिनमा हामी सबै प्रदेशवासीहरूलाई पनि आपसी सद्भाव र प्रेमका साथ सहकार्यको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गरोस् ।’
































