झापाको कचनकवलबाट प्रहरीले एउटा बेवारिसे गाडी फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले कचनकवल गाउँपालिका ६ स्थित बनियानी बजार सडक खण्डको पश्चिमतर्फ रहेको कल्भर्टको छेउमा पार्किङ गरी राखेको मे १ च ७९४६ नम्बरको महिन्द्रा कम्पनीको बोलेरो गाडी बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

गाडीको धनीलाई खोजतलास गर्दा फेला नपरेपछि गाडीको बारेमा मेची यातायात व्यवस्था कार्यालयसँग बुझ्दा गाडी नम्बर फरक परेपछि १२ लाख रुपैयाँ मूल्य तोकेर मेची भन्सार कार्यालय बुझाइसकेको प्रहरीले जनाएको छ । सो गाडी चोरीको हुन सक्ने प्रहरीको अनुमान छ । 

त्यस्तै प्रहरीले  मेचीनगर नगरपालिका ६ स्थित दुर्गा मन्दिरबाट नेपालबाट भन्सार छलेर  भारततर्फ लैजादैं गरेको १७० थान विन चिटर र ४० पिस ट्राउजर बरामद गरेको छ । बरामद गरिएको सामानलाई २ लाख ४४ हजार रुपैयाँ मूल्य तोकेर मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको जिल्लाका डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।