विराटनगर । एक जना युवतीलाई जबरजस्ती बलात्कारको प्रयास गरेको आरोपमा उच्च अदालत जनकपुरको वीरगञ्ज शाखाका अधिकृत पक्राउ गरेका छन् । विराटनगर–१ पोखरिया घर भएका ४८ वर्षीय नारायण प्याकुरेललाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका प्याकुरेलले मदिरा सेवन गरेर विराटनगरकी एक २२ वर्षीया युवतीलाई बलात्कारको प्रयास गरेको आरोप लागेको छ । उनले ती युवतीलाई रातिको समयमा घरमा पुगेर एक हप्ताअगाडि बलात्कारको प्रयास गरेको आरोप लागेको छ । प्रहरीले प्याकुरेललाई बुधबार पक्राउ गरी जबरजस्ती करणी उद्योगमा पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।

जबरजस्ती करणी उद्योगमा पक्राउ परेका प्याकुरेल विवादित व्यक्ति हुन् । यसअघि पनि उनी विवादमा पर्दैै कारबाही भोग्दै आएका व्यक्ति हुन् । २०६३ सालमा सोलु जिल्लामा प्याकुरेल नासु हुँदा कारबाहीमा परेका थिए । त्यसबेला अदालतकै कर्मचारीलाई दुव्र्यवहार गरेको आरोप लागेको थियो । त्यसपछि सर्वोच्च अदालतले कारबाही गरेर प्याकुरेललाई सोलु जिल्ला अदालतबाट मुगु जिल्ला अदालतमा सरुवा गरेको थियो ।

त्यसपछि उच्चअदालत राजविराजमा उनको सरुवा भएको थियो । त्यहाँ पनि प्याकुरेलले उच्चअदालत राजविराजको प्रशासन शाखा अधिकृत हरिशङ्कर महतोमाथि कुटपिट गरेका थिए । महतोलाई कुटपिट गरेपछि सर्वोच्च अदालतले प्याकुरेलको काज सरुवा उच्चअदालत वीरगञ्जमा गरेको थियो ।