धरान । वस्तु तथा सेवा खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा लागेका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपतिससहित तीन जनालाई विशेष अदालत काठमाडौँले दोषी ठहर गरेको छ ।

पूर्व उपकुलपति बलभद्रप्रसाद (बीपी) दाससहित तीनजनालाई कैदसँगै जरिबाना पनि फैसला सुनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाससहित बीपी प्रतिष्ठानका अन्य अधिकारीहरूविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष जिल्ला अदालत काठमाडौँका न्यायाधीश बलभद्र बास्तोला र खुसीप्रसाद थारूको संयुक्त इजलासले दाससहित तत्कालीन अस्पताल निर्देशक अरविन्दकुमार सिन्हा र तत्कालीन रजिष्ट्रार नन्दकुमार थापालाई दोषी ठहर गरेको हो । उनीहरूलाई जनही १ वर्ष कैद र २५ हजार रुपैयाँ जरिबाना तोकेको छ ।

अन्य पाँचजना प्रतिवादीलाई भने सफाइ दिएको छ । सफाइ पाउनेमा प्रतिष्ठानका लेखा प्रमुख दिनेशराज दाहाल, डेपुटी अस्पताल निर्देशक अमित श्रीवास्तव, रजिष्ट्रार तुलबहादुर श्रेष्ठ, उपकरण सप्लायर्स कम्पनीका सञ्चालकहरू चेतन अग्रवाल र उमेश अग्रवालले सफाइ पाएका हुन् । अख्तियारले वस्तु तथा सेवा खरिदमा भ्रष्टाचार गरेको दाबीसहित ८ जनाविरुद्ध २०७६ साल असार ३० गते भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।

अख्तियारले प्रचलित ऐन, नियम विपरीत बदनियतपूर्वक गैरकानूनीरूपमा आर्थिक लाभ लिएर सप्लायर्स तथा व्यक्तिगतरूपमा आफूलाई फाइदा पु¥याई प्रतिष्ठानलाई हानि नोक्सानी पु¥याएको भन्दै अभियोगपत्र दायर गरेको थियो । अख्तियारले दाससँग ४ करोड ८ लाख ९८ हजार १९ रुपैयाँ, पूर्व अस्पताल निर्देशक डा. सिन्हाले ३ करोड ७५ लाख ३० हजार ६ सय ११ रुपैयाँ, पूर्वरजिष्ट्रार थापाले १ करोड ९६ लाख ९ हजार ८ सय ८० रुपैयाँ र अर्का रजिष्ट्रार श्रेष्ठले ५६ लाख ७७ हजार ४ सय ५ रुपैयाँ भ्रष्टाचार गरेको दाबी गरी अभियोगपत्र दायर गरेको थियो ।

उपकरण सप्लायर्स प्रोसिजन मेडिकल प्रा.लि. र बायोमेड इन्टरनेसनल प्रा.लि. र सर्जिकेम डिस्टिब्युटर्समार्फत् प्रतिष्ठानका पदाधिकारीसँगको मिलेमतोमा हिनामिना तथा भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरिएको थियो ।