कोशी प्रदेशस्तरीय एसईई सिङ्गिङ आइडल र डान्सिङ स्टारको ग्राण्ड फिनाले जेठ २६ गते धरान–१५ स्थित चुम्लुङ भवनमा सम्पन्न हुँदैछ । सिङ्गिङ आइडल र डान्सिङ स्टारको ग्राण्ड फिनालेको विषयमा आधारित भई प्रतियोगिताका परिकल्पनाकार तथा आयोजक एफटिएल अनलाइन टिभीका अध्यक्ष डम्बरकुमार तुम्बापोसँग ब्लाष्टले गरेको कुराकानीः

एसईई सिङ्गिङ आइडल र डान्सिङ स्टारको पृष्ठभूमि बताइदिनुहोस् न ?

शिक्षाका लागि सङ्गीत भन्ने मूल नाराका साथ आयोजित कोशी प्रदेशस्तरीय कार्यक्रम हो । म आफै पनि साहित्यको विद्यार्थी र अनुरागी भएको र लामो समयदेखि शिक्षाक्षेत्रमा काम गरिरहेको छु । शिक्षालाई सङ्गीतसँग जोड्ने माध्यम खोजिरहेको थिएँ । त्यसैले यो कार्यक्रम परिकल्पना गरेँ । परिकल्पना गर्दा कुन तहमा उपयुक्त हुन्छ त ? भन्ने प्रश्नमा एसईईलाई रोजेँ । एसईई दिने विद्यार्थी संवेदनशील उमेरका हुन्छन् । साथै एसईई ऐतिहासिक तह भएकाले एसईईका विद्यार्थीका लागि उपयुक्त लाग्यो । त्यसैले कोशी प्रदेशस्तरीय कार्यक्रम आयोजना गरेँ । हामीले पहिलो सिजन र दोस्रो सिजन सकेका छौँ । तेस्रो सिजन ग्राण्ड फिनालेको तयारीमा लागेका छौँ । डान्सिङ स्टारको फस्ट सिजन सकेका छौँ । सेकेण्ड सिजनको तयारीमा छौँ । 

कार्यक्रममा विद्यार्थीले कस्तो प्लेटफर्म पाउँछन् ?

कोशी प्रदेशका एसईई विद्यार्थीका लागि ठूलो प्लेटफर्म हो । गायन र नृत्य विधामा क्षमता भएका विद्यार्थीलाई शिक्षामा पनि सहयोग पुगोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । दुवै विधाका विजेतालाई नगद ५० हजार रुपैयाँ पुरस्कारसहित कक्षा ११ र १२ अध्ययनमा पूर्ण छात्रवृत्तिको व्यवस्था गरेका छौँ । साथै मनाङ, मुस्ताङ भ्रमणको पनि व्यवस्था गरेका छौँ । सङ्गीतमा करियर बनाउँछु भन्ने विद्यार्थीका लागि पनि एउटा प्लेटफर्म हो । पहिलो सिजन र दोस्रो सिजनको विजेताले निःशुल्क अध्ययन गरिरहेका छन् । डान्सिङ स्टारको पनि विजेताले निःशुल्क अध्ययन गरिरहेकी छन् । कार्यक्रमले साङ्गीतिक प्लेटफर्मसँगै शिक्षामा पनि सहयोग पु¥याएको  छ । 

दुईवटा विधाको एकैपटक प्रतियोगिता गर्नुभएको छ, व्यवस्थापन कसरी गरिरहनुभएको छ ?

सुरुमा सिङ्गिङ आइडल मात्रै गरेका थियौँ । सिङ्गिङ आइडलको फस्ट सिजन गरिरहँदा विद्यार्थी, शुभचिन्तकहरूबाट डान्सिङ स्टार पनि गर्नू भन्ने सुझाव आएकाले दुईवटै विधाको गरेका हौँ । धेरै रियालिटी शोहरू लामो टिकिरहेका छैनन् । कोरोनाले धेरै कार्यक्रमलाई समाप्त गरेको छ । हामीले निरन्तरता दिइरहेका छौँ । सुरुदेखि नै सिजी ग्रुप अफ नेपालको वाईवाईले टाइटल स्पोन्सर गरिरहेको छ । युएन कलेज, एनएमबी बैङ्क र इडेन एकेडेमीले पनि सहयोग गरिरहेको छ । विभिन्न सङ्घ–संस्थाको पनि सहयोग छ । अहिले पनि काठमाडौँ मोडेल कलेज एजुकेशनल पार्टनरको रूपमा छ । प्रतियोगिताका विजेताले काठमाडौँमा पढ्छौँ भनेमा सोही कलेजमा अध्ययन गराउँछौँ । मनाङ, मुस्ताङ भ्रमणका लागि हस्पिटालिटी पार्टनर पोखराको होटल छ  । टप थ्रीलाई निःशुल्क भ्रमणको व्यवस्था उक्त होटलले गरिरहेको छ । 

प्रतियोगितामा प्रवेश गर्न कति शुल्क लाग्छ ?

हामीले एसईई पढाइमा असर नपुगोस् भनेर एसईई परीक्षा दिएपछि मात्रै प्रतियोगिता सुरु गर्छौं । विद्यार्थीले परीक्षापश्चात् मूल्यवान् समय प्रयोग गरुन् भनेर आयोजना गरेका हौँ । फाराम भर्दादेखि तालिम सबै पूर्ण निःशुल्क हो । धेरै रियालिटी शोहरूमा रकम लिने गरेको सुनिन्छ । हामीले १ रुपैयाँ पनि लिएका छैनौँ ।

प्रतियोगितामा विद्यार्थीलाई के के सिकाउनुहुन्छ ?

तालिममा सङ्गीत सिकाउँछौँ । व्यक्तित्व विकास गराउँछौँ । अनुशासनलगायत उत्प्रेरणाका तालिम दिई विद्यार्थीको सर्वाङ्गीण विकास गराउँछौँ । प्रतियोगीहरू विद्यार्थी भएकाले अनुशासनलाई प्राथमिकता दिएका छौँ । १ सय नम्बरमा १० नम्बर अनुशासनमा राखेका छौँ । 

ग्राण्ड फिनालेको तयारी कस्तो छ ? 

आगामी सिजनको ग्राण्ड फिनाले यही जेठ २६ गते धरान–१५ स्थित चुम्लुङ भवनमा हुँदैछ । सिङ्गिङ र डान्सिङतर्फ १०–१० जना छानिएका छन् । फाराम भरेका ११ सयमध्ये फिजिकल र डिजिटल अडिसनबाट १०–१० जना छानिएका छन् । फिनालेमा दीप श्रेष्ठलाई प्रमुख अतिथिको रूपमा आमन्त्रण गरेका छौँ । गायिका अञ्जु पन्तलाई पनि आमन्त्रण गरेका छौँ । निर्णायकमा भ्वाइस अफ नेपालका फाइनलिष्ट विकास लिम्बूलगायत राखेका छौँ । डान्सिङमा पनि नेशनल कोरियोग्राफर पृतम सम्बाहाम्फे, रेश्मा बान्तवा राईलगायतका निर्णायक राखेका छौँ । जेठ २६ गते धरान सङ्गीतमय हुँदैछ । प्रतियोगी, निर्णायक तथा अतिथि कलाकारको प्रस्तुति रहनेछ । ग्राण्ड फिनालेपश्चात् कोशी प्रदेशले तेस्रो सिङ्गिङ आइडल र दोस्रो डान्सिङ स्टार पाउनेछ । 

सहभागी वा विजेताले राष्ट्रियस्तरका प्रतियोगितामा भाग लिन पाउने केही व्यवस्था छ ?

हामी प्रक्रियामा छौँ । प्रत्यक्षरूपमा नगरे पनि भ्वाइस अफ नेपालमा सहभागी भएका छन् । हामीले एसईई दिएका विद्यार्थी हुने भएकाले अध्ययनमा प्राथमिकता दिनुपर्छ भन्ने मान्यता राखेका छौँ । नेशलन प्लेटफर्ममा लान प्रयासरत छौँ ।

अन्त्यमा केही भन्नुहुन्छ ?

जेठ २६ गते कोशी प्रदेशस्तरीय सिङ्गिङ आइडल र डान्सिङ स्टारको ग्राण्ड फिनाले धरानमा हुँदैछ । ग्राण्ड फिनालेमा सङ्गीतप्रेमी महानुभावहरूलाई सादर निमन्त्रणा गर्न चाहन्छु । एसईई दिने भाइबहिनीहरूलाई टिकटमा विशेष छुटको व्यवस्था गरेका छौँ । सङ्गीतप्रेमीहरूलाई उपस्थिति जनाएर प्रदेशको सिङ्गिङ आइडल र डान्सिङ स्टार छनौट गरौँ भन्न चाहन्छु ।