बराहक्षेत्र नगरपालिकामा रहेका क्रियाशील पत्रकारहरूको संस्था ग्रामीण पत्रकार समूहले ७ सदस्यीय कार्यसमिति चयन गरेको छ । समूहका पत्रकारहरूको बुधबार भएको भेलाले ‘कोशी सम्मान’ पत्रिकाका सम्पादक/प्रकाशक हिरण्य कार्कीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

कार्कीको  अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति गठन भएको निर्वाचन समिति संयोजक नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य भीषण राईले जानकारी दिए । 

समितिका उपाध्यक्ष कृष्णकुमार श्रेष्ठ अर्जुन, सचिव सुविन विश्वकर्मा, सह–सचिव सुदन गुरागाईँ, कोषाध्यक्ष गङ्गा भट्टराई र सदस्यहरू राजन घिमिरे र सिर्जना थापा चयन भएका छन् । 

सहमतीय कार्यसमिति बनाउन पत्रकार महासंघका केन्द्रीय सदस्य भीषण राईसहित छविना लुङ्गेली मगर र नवराज विष्टको ३ सदस्यीय निर्वाचन समितिलाई अधिवेशनले म्याण्डेड दिएको थियो । 

सदाबहार मिडिया प्रालिका अध्यक्ष तथा मिडिया नेपालका कोशी प्रदेश अध्यक्ष विजयकुमार राउत, नेपाल प्रेस युनियन सुनसरीका सचिव बाबुराम कार्की र समूहका संस्थापक सचिव अच्युत भट्टराईको उपस्थितिमा नयाँ कार्यसमिति चयन गरिएको थियो । 

निर्वाचित कार्यसमितिको बुधबारै बसेको पहिलो बैठकले बराहक्षेत्र नगरपालिकालाई सञ्चार विकास कार्यक्रमअन्तर्गत विनियोजित बजेट माग गरी स्थानीय सञ्चारकर्मीको वृत्तिविकासका लागि उपयुक्त कार्यक्रम गर्ने निर्णय गरेको सचिव सुविन विश्वकर्माले जानकारी दिए । 

ग्रामीण पत्रकारिता प्रोत्साहित गर्न, उनीहरूको क्षमता र वृत्ति विकासका काम गर्न २०७६ सालमा समूह गठन भएको नवनिर्वाचित अध्यक्ष हिरण्य कार्कीले जानकारी दिए ।