विराटनगर । विराटनगर भन्सार कार्यालयबाट जाँचपास भएर निस्किएको करिब १६ लाख मूल्य बराबरको सामान बोकेको ट्याक्टर सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारतीय नम्बर प्लेटको ट्याक्टरमा लोड गरिएको सामान सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट (बिओपी) रानी र प्रस्तावित गुल्मले विराटनगरको रोडशेष चोकबाट शुक्रबार राति नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको ट्याक्टरमा कुकुरले खाने खाद्यवस्तु, लत्ताकपडा, हार्डवेयरका सामानहरू रहेको सशस्त्र प्रहरी बल मोरङका एसपी तीर्थबहादुर थापाले जानकारी दिए । ‘भन्सार छली गरिएको भन्ने सूचना आएपछि सशस्त्र प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएको हो’ एसपी थापाले भने, ‘नियन्त्रणमा लिएको ट्याक्टर र  सामानहरू आवश्यक अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको छ ।’

राजस्वले थप अनुसन्धान गरेपछि भन्सार छली गरे नगरेको खुल्नेछ । सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको सामान र ट्याक्टरको भन्सार जाँचपास विराटनगरका एजेन्ट राजकुमार रौनियारले गरेका हुन् । उनले सहजीकरण गरिएको सामान विराटनगर र झापाका व्यापारीले आयात गरेका हुन् । सिद्धकाली डली इन्टरप्राइजेज विराटनगरको बगरगाछी फर्मबाट सामान आयात गरेको प्रज्ञापन–पत्रमा उल्लेख छ । 

सशस्त्र प्रहरीले दुःख दिएको व्यवसायीको आरोप
खाद्यान्य र लत्ताकपडा आयातमा सहजीकरण गरिदिने भन्सार एजेन्ट राजकुमार रौनियारले सशस्त्र प्रहरीले अनावश्यक रूपमा दुःख दिएको गुनासो गरेका छन् ।

१६ लाखको सामान आयात गर्दा साढे १२ लाख रुपैयाँ भन्सार दाखिला गरेको प्रज्ञापन–पत्र हुँदाहँुदै पनि सशस्त्र प्रहरीले दुःख दिएको उनको भनाइ छ । ‘भन्सारबाट जाँचपास भएको सवारी साधन बाटोमा रोकेर अनलोड गरेर हेर्ने अधिकार सशस्त्र प्रहरीलाई छैन’ एजेन्ट रौनियारले भने, ‘सम्पूर्ण कागजपत्र र मालसामान हेरेपछि पनि ड्युटीमा खटिएका डिएसपीले ठीक छ भन्नुभएको थियो । तर, पछि एसपीको आदेश भन्दै आइतबार एक दिन बिओपी रानीमा ट्याक्टर राखेर सोमबार राजस्वमा पठाएको छ ।’

सशस्त्र प्रहरीलाई पैसा नदिएको कारणले सामान नियन्त्रणमा लिएर दुःख दिने नियतले राजस्वमा दाखिला गरेको एजेन्ट रौनियारको आरोप छ । ‘सादा पोसाकमा आएको प्रहरीले पैसा मागेका थियो । सम्पूर्ण कागज प्रक्रिया पूरा गरेको छु । किन पैसा दिनु भन्दै नमानेको कारणले सशस्त्र प्रहरीले दुःख दिने नियतले सामान भन्सार बुझाएको हो’–एजेन्ट रौनियारको आरोप छ ।