भद्रपुर । चालु आर्थिक वर्षमा झापामा १२ जनाको हत्या भएको छ । सबै हत्याका घटनामा घरेलु हतियार प्रयोग भएको झापास्थित जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

हत्या घटनामा ५० प्रतिशत परिवार र आफन्तबाट भएको प्रहरीले जनाएको छ । चालु आर्थिक वर्ष २०७९/०८० को साउनदेखि वैशाख महिनासम्ममा जिल्लाका विभिन्न पालिकाहरूमा एक शिशुसहित पतिले पत्नीको, पत्नीले पतिको, भाइबुहारीले जेठाजुको, छोराले आमाको, छिमेकीले छिमेकीको हत्या गरेको प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कमा रहेको छ । 

चार जना पतिले पत्नीको हत्या गरेका छन् भने एकजना पत्नीले पतिको गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

दाम्पत्यभित्र हुने हत्याका अधिकांश घटनाको भित्री कारण पैसा, अविश्वास, यौनसम्बन्ध वा विवाहेत्तर सम्बन्ध रहेको देखिएको उनले जानकारी दिए ।

यस अवधिमा छिमेकीबाट तीनजनाको हत्या भएको छ भने भाइबुहारीले जेठाजुको हत्या गरेको घटना एउटा छ । चिनजानकै भरमा, छोराबाट आमाको हत्या र आफैले जन्माएर शिशुको हत्याको घटना एक–एकवटा छन् ।

यस्ता हत्याका घटनामा हँसिया, बाम्फोक, काँचको करुवालगायतका हतियार प्रयोग भएका छन् । जानी जानी सवारी दुर्घटना गरेरसमेत हत्या गरेका कारण कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरीको भनाइ छ ।

श्रीमान्–श्रीमतीबीचको हत्याका घटना ५० प्रतिशत छन् । अझ यसमा श्रीमान्ले श्रीमतीको हत्या गरेको घटना ८० प्रतिशतको हाराहारीमा छ । ‘अहिले परिवार र आफन्तभित्रै हत्या हुन थालेपछि प्रारम्भिक अनुसन्धानको सुई नै परिवारभित्रै केन्द्रित गर्ने प्रचलनजस्तै भइसक्यो’–डिएसपी रिजालले भने । 

२०७९ असार ९ गते झापाको अर्जुनधारामा भारत गुजरातका ४० वर्षीय जपडिया नरेशकुमार बाबुभाइको हत्या भएको थियो । उनको शव ह्युम पाइपभित्र बोरामा हालेर फालिएको अवस्थामा स्थानीयले फेला पारेका थिए ।

घटनालगत्तै झापा प्रहरीले अनुसन्धान सुरु गरेको थियो । इलाका प्रहरी कार्यालय बिर्तामोडले उनको हत्यामा संलग्न तीन जनालाई पक्राउ गरेर सार्वजनिक पनि गरेको छ ।

अर्जुनधारा–७ की ३२ वर्षीया जानुकादेवी थापा, ४९ वर्षीय विजय भन्ने बृखबहादुर थापा र सुनसरी जिल्ला वराहक्षेत्र नगरपालिका–१० बस्ने २५ वर्षीय सुरेश परियारलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको थियो । हत्या घटनामा संलग्न थप एक जना फरार रहेका छन् ।

मदिरा सेवनपछिको विवाद, रिसइबी, आर्थिक लेनदेनका कारण हत्याका घटना भएको देखिएको प्रहरी अनुसन्धानले बताएको छ । अहिले परिवार र आफन्तमा भएका अधिकांश हत्याको प्रवृत्ति हेर्ने हो भने रिस, आवेग, तनाव र मानसिक समस्याको कारणले भएको देखिन्छ । अहिले व्यक्तिले अर्काको भावना नबुझ्ने, सहयोग नगर्ने प्रवृत्ति बढ्दै गएको देखिएको छ ।