विजयपुर । वराहक्षेत्र नगरपालिका–१ स्थित भवानीथान मन्दिर गढीक्षेत्रमा रुख कटानको आरोप लागेका विपिन भनिने बिपेन मगरविरुद्ध मुद्दा दायर भएको छ ।

सव–डिभिजन वन कार्यालय वराहक्षेत्रले बुधबार (जेठ १० गते) विपिनविरुद्ध मुद्दा दायर गरेको जनाएको छ । सव–डिभिजन वन कार्यालय वराहक्षेत्रका रेञ्जर तथा रुख कटानका विषयमा अनुसन्धान अधिकारी रहेका शिशुराज झाका अनुसार वन कार्यालयले विपिनविरुद्ध ‘रुख बिरुवा हानि नोक्सानी’ मा मुद्दा दायर गरेको हो ।

उनले भने, ‘सरकारी वकिलको कार्यालयमा मुद्दा दायर गरेका छौँ । रायअनुसार मुद्दा अघि बढ्छ ।’ वन कार्यालयले मुद्दा दायर गरे पनि विपिनलाई भने जनप्रतिनिधिको रोहवरमा छाडिएको छ । 

वराहक्षेत्र–१ खारखोलाका मगरले पर्यटन विकासका लागि भन्दै राष्ट्रिय वनक्षेत्रमा पर्ने धार्मिक वन (हाल कायम भइनसकेको) को २३ वटा रुख २०७९ भदौमा काटेका थिए ।

तर, हालसम्म उक्त वनक्षेत्र धार्मिक वन क्षेत्रका रूपमा दर्ता नभएको भवानीथान मन्दिर गढीक्षेत्रका पुजारी एवम् वराहक्षेत्र–१ का सदस्य दीपक राईले जानकारी दिए ।

मगरलाई छुटाउनका लागि उनी स्वयम् रोहवरमा बसेका छन् । सव–डिभिजन वन कार्यालय वराहक्षेत्रले रुख काटेको ८ महिनासम्म अनुसन्धान गरे पनि कारबाही गरेको थिएन । ब्लाष्ट दैनिकमा भवानीथान गढीको रुख काटेको विषयमा समाचार प्रकाशित भएपछि मगर पक्राउ परे पनि अन्ततः वन कार्यालयले वन ऐन २०४९ विपरीत जनप्रतिनिधिको रोहवरमा छाडेको थियो ।

सव–डिभिजन वन कार्यालय वराहक्षेत्रका रेञ्जर तथा रुख कटान प्रकरणका अनुसन्धान अधिकृत झाका अनुसार मगर जेठ ४ गते पक्राउ परेका थिए ।

उनले आरोपित मगरले रुख काटेको पनि स्वीकार गरेको बताएका थिए । उनले त्यसबेला भनेका थिए, ‘१० गते हाजिर गराउने सर्तमा विपक्षी मगरलाई दुईजना वडासदस्यको रोहवरमा छाडिएको छ ।’ उनका अनुसार वराहक्षेत्र–१ का वडासदस्य दिलमाया सार्की र दीपक राईको रोहवरमा छाडिएको थियो ।

राष्ट्रिय वन क्षेत्रमा पर्ने धार्मिक वन क्षेत्रको रुख काट्दा वन ऐन २०४९ को संशोधित २०७६ को परिच्छेद १५ मा कसूर र सजायसम्बन्धी व्यवस्था रहेको छ ।

ऐनको दफा ५० मा सजायसम्बन्धी व्यवस्था छ । दफा ५० को उपदफा ३ मा दफा ४९ को खण्ड (ग) अन्तर्गतको कसूर गर्नेलाई ५ वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ ।

दफा ४९ को (ग) मा राष्ट्रिय वन फाँड्ने वा वन क्षेत्रमा जग्गा जोत्ने, खन्ने, खनिज कार्य उत्खनन् गर्ने, आवाद गर्ने, सडक तथा अन्य पूर्वाधार निर्माण गर्ने, घर वा छाप्रो बनाउने, व्यवसाय सञ्चालन गर्ने वा अतिक्रमण गर्ने काम गरे वा गराएमा कसूर मानिने व्यवस्था छ ।