पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा जारी चौथो कुम्मायक गोल्डकप प्रतियोगिताको च्याम्पियन याङवरक गाउँपालिका भएको छ ।

बुधवार पृथ्वी मा.वि.को खेलमैदानमा भएको फाइनल खेलमा फाल्गुनन्द गाउँपालिकालाई ३–१ को सहज जित निकाल्दै याङवरक च्याम्पियन बनेको हो । खेलको सुरुवाती ६ मिनेटमा याङवरकका टिम क्याप्टेन सुुमन योङ्याले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । दबावमा परेको फाल्गुुनन्दको तर्फबाट ३३ औं मिनेटमा विनोद नेम्बाङले गोल गर्दै बराबरीमा रोके । तर लगतै उकृष्ट खेल प्रदर्शन गरेको याङवरकका लागि पुस्कर काम्बाङले ३८ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । 

 दोश्रो हाफको १७ औं मिनेटमा याङवरकका लागि क्याप्टेन सुुमन योङ्याले पुुनः गोल गर्दै गोल ३–१ फराकिलो जीत दिएका थिए । उपाधिसँगै याङवरकले रु. १ लाख ११ हजार १११ पुरस्कार सहित तीन वर्षे ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता फाल्गुनन्दले रु. ५५ हजार ५५५ पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक कुम्मायक स्पोर्टिङ क्लबका अध्यक्ष रोहन घिमिरेले बताए । प्रतियोगिताका विजेता र उपविजेतालाई प्रतियोगिताको समापन कार्यक्रमका प्रमुख अतिथि कुम्मायक गाउँपालिकाका अध्यक्ष बमप्रसाद लावतीले पुरस्कार प्रदान गरे । 

फाइनल खेलमा दुुई गोल गरेका याङवरकका योङ्या प्रतियोगिताका उत्कृष्ट फरवार्ड घोषित हुँदै पुरस्कृत भए । फाइनल खेलको उत्कृष्ट खेलाडी याङवरककै पुुष्कर काम्बाङ घोषित भए । प्रतियोगिताको उत्कृष्ट खेलाडी याङवरक जमिन लिम्बू घोषित हुँदै रु. १५ हजार पुुरस्कार प्राप्त गरे । 

प्रतियोगिताको उदयमान खेलाडी कुम्मायक गाउँपालिकाका सुशील लावती, उत्कृष्ट गोलकिपर याङवरकका रविन बेघा, उत्कृष्ट डिफेन्स फाल्गुनन्दका विदेश आङ्देम्बे, उत्कृष्ट मिडफिल्डर फाल्गुनन्दकै ऋतिक आङदेम्बे र उत्कृष्ट प्रशिक्षक याङवरकका तुफान क्षेत्री घोषित हुँदै जनही रु. ५ हजार पुरस्कार प्राप्त गरे । 

कुम्मायक गाउँपालिकाको प्रवद्र्धनमा कुम्मायक स्पोर्टिङ क्लबले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा जिल्लाका आठ स्थानीय तहको सहभागिता थियो ।