पथरी । मोरङको बेलबारी नपा –१० स्थित प्रस्तावित डाँगीहाट रंगशालामा ‘१९७४ एडी’ को लाईभ कन्सर्ट हुने भएको छ । 

डाँगीहाट फुटबल क्लबले बुधबार बेलबारीमा पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रम हुने बारे जानकारी गराएको हो । चैत १८ गते शनिबार बेलुकी ५ बजेदेखी ९ बेज सम्म हुने कन्सर्ट मोरङ जिल्लामै पहिलो पटक हुनेभएको छ । खेलकुदसँगै बेलबारी नगरपालिकाको पर्यापर्यटनको बिकास र प्रचारप्रसार गर्ने उदेश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको क्लबका अध्यक्ष छत्र लिम्बुले बताए ।

कन्सर्टमा ३१ लाख ६६ हजार खर्च हुने आयोजकको अनुमान छ । बेलबारीका स्थानीय जनप्रतिनिधिहरु, बेलबारीलाई प्रतिनिधित्व गर्दै बिभिन्न स्थानमा आफुलाई स्थापित गराउन सफल ब्यत्तित्वहरुलाई पनि सम्मानित गर्ने क्लबका अध्यक्ष लिम्बुले बताए । कार्यक्रमको रु ५ सय टिकट रहेको र कन्र्सट छिमेकी पालिका कानेपोखरी, लेटाङ, पथरीशनिश्चरे, सुन्दरहरैचा, दमक र विराटनगर लगाएतबाट दर्शक आउने आयोजकले पत्रकार भेटघाट कार्यक्रममा बताए । 

‘१९७४ एडी’ को लाईभ कन्सर्टमा माल्भिका सुब्बा र महेश लिम्बुले कार्यक्रमको होस्ट गर्ने भएका छन् । आयोजक डाँगीहाट फुटबल क्लबले अध्यक्ष छत्र लिम्बुको नेतृत्वमा ३ वटा गोल्डकप लगाएत विभिन्न सामाजिक कामहरु गर्दै आएका थिए ।