भद्रपुर । झापाको मेचीनगर नगरपालिकाले किसानलाई नउम्रिने मकैको बिउ वितरण गरेको किसानले गुनासो गरेका छन् ।

नगरपालिकाले ५० प्रतिशत अनुदान भन्दै १५ दिनअघि वितरण गरेको मकैको बिउ नउम्रिएको किसानले बताए । मेचीनगर–२ का किसान देवेन्द्र ढकालले पाँच प्रतिशत पनि बिउ नउम्रिएको बताए । ‘ट्याक्टरले जोतेको घण्टाको २२ सय रुपैयाँ पर्छ, त्यसको खर्च कसले दिने ?’–ढकालले प्रश्न गरे । उनले सुरुको बिउ छर्दा लागेको खर्च पनि नगरपालिकाले किसानलाई उपलब्ध गराउनुपर्ने बताए । उनले किसानको श्रमको हिसाब नभएको गुनासो गरे । अर्का किसान युवराज नेपालले पनि नगरपालिकाले उपलब्ध गराएको मकैको बिउ नउम्रिएको बताए । उनले भने, ‘निर्मलीकरण गरेको भनिएको बिउ पनि उम्रिएन, जोताउँदा करिब २५ हजार रकम खर्च भएको छ, यो खर्च कसले बेहोर्ने ?’

नगरपालिकाबाट वितरण भएको मकैको बिउमा समस्या देखिएको नगरको कृषि शाखाले स्वीकार गरेको छ । रामपुर कम्पोजिट जातको मकैको बिउ किसानलाई ५० प्रतिशत अनुदानमा बिक्री वितरण गरेको मेचीनगरका कृषि शाखा प्रमुख टेकेन्द्र प्रधानले बताए । नगरपालिकाले वितरण गरेकोमध्ये एक लट मकैको बिउमा उमार शक्ति नभएको पाइएको उनले जनाए ।

प्रधानका अनुसार रामपुर कम्पोजिट जातको ११ टन मकैको बिउ सार्वजनिक सूचनामार्फत् विभिन्न वडाका किसानलाई वितरण गरिएको थियो । नगरपालिकाले प्रतिकिलो १ सय ४ रुपैया ८० पैसाका दरले खरिद गरी ५० प्रतिशत अनुदान दिएर प्रतिकिलो ५२ रुपैयाँ ४० पैसाका दरले किसानलाई मकैको बिउ बिक्री वितरण गरेको थियो ।

नगरपालिकाले बिउ उपलब्ध गराउन दरभाउ पत्र माग गर्दा मेचीनगर–१० धुलाबारीस्थित खड्का कृषि भण्डारले बिउ उपलब्ध गराउने टेण्डर पारेपछि सम्झौता गरी बिउ खरिद गरेर किसानलाई वितरण गरेको कृषि शाखा प्रमुख प्रधानले बताए । नगरपालिकाले ११ लाख २१ हजार ५ सय ६९ रुपैयाँमा बिउ खरिद गरेको जनाए । बिउ नगरका ८४ जना किसानलाई वितरण गरिएको थियो ।

उमार शक्ति नभएको बिउको ठाउँमा किसानलाई अर्को बिउ ठेकेदारबाट नै निःशुल्क उपलब्ध गराएको उनले बताए । हालसम्म करिब २ सय किलो बिउ पुनः ठेकेदारले वितरण गरिसकेको उनको भनाइ छ । ठेकेदारलाई कस्तो कारबाही हुने सम्बन्धमा निर्णय भइनसकेको उनको भनाइ छ । कृषि प्राविधिकको टोलीले स्थलगत निरीक्षण गरिरहेको उनले जनाए । ठेकेदारलाई आगामी ठेक्कामा प्राथमिकता नदिइने उनले बताए । यता किसानले भने नगरपालिकाले अनुदानको नाममा गम्भीर लापरबाही गरेकाले दोषीलाई तत्काल छानबिन गरी कारबाही गर्नुपर्ने बताए ।