धरान । नेपाल उद्योग वाणिज्य महासङ्घको केन्द्रीय सदस्य पदमा सुनसरी उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष राजेन्द्र साहले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

जिल्ला नगर उद्योग वाणिज्य सङ्घको तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका साहलाई सुनसरी उद्योग वाणिज्य सङ्घले समर्थन गरेको छ ।

बुधबार साँझ सुनसरी उवासङ्घले पत्रकार सम्मेलन गर्दै पूर्व अध्यक्ष साहलाई समर्थन गरिएको अध्यक्ष विजय श्रेष्ठले जानकारी दिए । उनले साहलाई सदस्यमा जिताउनका लागि अन्य सङ्घहरूसँग सहकार्य गरिने बताए । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश कार्य समितिको सदस्यसमेत रहिसकेका साहलाई समर्थन जुटाउनका लागि सुनसरी उवासङ्घले अभियान चलाउने उनले जानकारी दिए ।

उनले ६० वर्षे इतिहासमा अन्य उम्मेदवारहरूलाई उठाए पनि जित हात नपारेको अवस्थामा साहलाई जिताउन नयाँ तरिकाले अभियान गरिएको बताए । सुनसरी उवासङ्घका प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठले हालसम्म देशभरिका उद्योगी व्यवसायीको तर्फबाट ५४ जनाले उम्मेदवारी दिने भन्ने सुन्नमा आएको बताए ।

चैत २१ गते उम्मेदवारी मनोनयन दर्ता गर्ने मिति तय भएकाले सोही दिन नै कतिजनाको उम्मेदवारी पर्छ भन्ने थाहा हुने उनले जानकारी दिए । महासङ्घको अधिवेशन भने यही चैत २८ र २९ गतेका लागि तय भएको छ । जिल्ला नगर उद्योग वाणिज्य सङ्घमा १ सय १९ जना सदस्यहरूलाई मताधिकार रहेको छ ।