भद्रपुर । झापामा यस बर्षको एसईई परीक्षामा १५ हजार ८ सय ५८ परीक्षार्थी सहभागी हुनेभएका छन् । जिल्लामा ५६ वटा परिक्षाकेन्द तोकिएको छ ।  शुक्रबारदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा एसईईको सम्पुर्ण तयारी पुरा भएको शिक्षा विकास तथा समन्वय इकाइ झापाले जनाएको छ । 

 शिक्षा विकास तथा समन्वय इकाइ झापाका प्रमुख राजकुमार बिश्वकर्माका अनुसार जिल्लाभरबाट यस बर्ष परिक्षा दिने परीक्षार्थीलाई तिनवटा धारमा विभाजन गरिएको छ । नियमीत तर्फ, प्राविधिक तर्फ र ग्रेडवृद्धी तर्फ गरी तिन धारमा विभाजन गरिएको उनले जानकारी दिए । जसमा नियमीत तर्फ ७ हजार ६ सय ७२ छात्रा र ७ हजार ५४ छात्रा गरी १४ हजार ७ सय २६ जनाले परीक्षामा सहभागी हुने उनले जनाए  ।

यसैगरी प्राविधिक तर्फ २ सय ४६ जना छात्रा र ३ सय ५४ छात्रा गरी ५ सय ९९ जना परीक्षार्थी सहभागी हुँदैछन् । ग्रेडवृद्धी तर्फ पनि ३ सय १३ छात्रा र २ सय २० छात्रा गरी ५ सय ३३ विद्यार्थीले परीक्षा दिँदैछन् । इकाइका प्रमुख बिश्वकर्माका अनुसार जिल्लामा यस बर्ष तिन जना दृष्टिविहिन विद्यार्थी परीक्षामा सामेल हुँदैछन् भने संस्कृत विधा तर्फबाट ४७ जनाले परिक्षा लेख्दैछन् । 

जिल्लामा ५६ केन्द्र तोकिएकोमा दमक स्थित हिमालय मावि परीक्षा केन्द्रबाट सबैभन्दा धेरै परीक्षार्थी सामेल हुदैछन् । सबै भन्दा थोरै भने महेन्द्ररत्न मावि, कमल २ परीक्षा केन्द्रबाट परीक्षार्थी सहभागी हुँदैछन् ।

उनका अनुसार ५६ वटै परीक्षाकेन्द्रमा केन्द्राध्यक्ष तोकिसकिएको छ भने एक सय चार जना सहायक केन्द्राध्यक्ष र ७ सय ९७ जना परीक्षा निरीक्षक तोकिएको छ । परीक्षाको सम्पुर्ण तयारी भइसक्याले अब परीक्षा शुरु हुन मात्रै बाँकी रहेको उनले जनाए । सबै परिक्षा केन्द्रहरुमा उत्तरपुस्तिका पुर्याइसकिएको छ ।  शुक्रबार विहान ८ बजेबाट परिक्षा शुरु हुने जनाइएको छ ।

उनका अनुसार एक सय २६ सामुदायीक तथा दुई सय ३९ संस्थागत विद्यालयका विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदैछन् ।