विजयपुर । धरान उपमहानगरका नगरप्रमुख र वडाध्यक्षबीचको विवादका कारण कर्मचारीको जिम्मेवारी परिवर्तन गरिएको छ ।

धरान नगरप्रमुख हर्कराज राईका स्वकीय सचिव भनिएका सुदर्शन लिम्बूले वडाध्यक्षलाई पत्राचार गरेपछि सुरु भएको विवाद कर्मचारीमाथि पोखिएको हो । सो विषयमा नगरका कर्मचारीको जिम्मेवारी परिवर्तन गरिएको छ । नगरप्रमुख हर्कराज राईले सामान्य प्रशासन महाशाखाका वरिष्ठ प्रशासकीय प्रमुख गणेश खतिवडालाई शिक्षा, युवा तथा खेलकुद महाशाखामा सरुवा गरेका छन् । त्यस्तै शिक्षा महाशाखाका शम्भुप्रसाद पाण्डेलाई वरिष्ठ प्रशासकीय प्रमुखको जिम्मेवारी दिएका छन् । नगरका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले अर्को व्यवस्था नभएसम्मका लागि महाशाखा परिवर्तन गरेको बताए ।

नगरप्रमुख राईका स्वकीय सचिव लिम्बूले गरेको पत्राचारका विषयमा वडाध्यक्षहरूले कार्यपालिका बैठकमा कारबाही गर्न माग राखेका थिए । कार्यपालिका बैठकमा नै नगर प्रमुख राईले वरिष्ठ प्रशासकीय प्रमुख खतिवडाबाट कारबाही सुरु गरिने बताएका थिए । खतिवडाले प्रमुखको सचिवालयबाट पत्राचार गर्न सुझाव दिएपछि स्वकीय सचिवले पत्राचार गरेको भन्दै नगरप्रमुख राईले स्वकीय सचिवको बचाउ गरेका थिए ।

खतिवडाले भने सचिवालयबाट पत्राचार गर्न सुझाव दिए पनि हस्ताक्षर कसले गर्ने भन्ने विषयमा कुरा नभएको बताएका थिए । सोही विषयलाई लिएर नगरप्रमुख राईले खतिवडालाई महाशाखामा सरुवा गरेका हुन् । नगरप्रमुख राईले कर्मचारीहरू भ्रमणमा गएको विषयमा पनि स्पष्टीकरण सोधेका थिए ।

पत्राचार गरेकै विषयमा उत्पन्न विवादले कार्यपालिका बैठक हालसम्म बस्न सकिरहेको छैन । पत्राचारकै विषयमा नगरप्रमुख राईले वडा नं. १० का अध्यक्ष विवेक राईलाई स्पष्टीकरणसमेत सोधेका छन् । उक्त स्पष्टीकरण सोध्न नहुने भन्दै वडाध्यक्षहरू आन्दोलनमा छन् । वडाध्यक्षहरूले कालोपट्टी बाँधेर काम गर्दै आएका छन् । नगरप्रमुख राई र वडाध्यक्षहरूको विवाद चुलिँदै गएको अवस्था छ । नगरप्रमुख राईले माफी माग्नु पर्ने र स्वकीय सचिव लिम्बूलाई कारबाही गर्नुपर्ने वडाध्यक्षहरूले माग गर्दै आएका छन् ।