धरान । नेपाल राष्ट्रिय संयुक्त निवृत्त कर्मचारी सङ्घको सातौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका निवर्तमान सभामुख प्रदीपकुमार भण्डारीले आफू सभामुख भएका बेला पनि राष्ट्र सेवक सेवा निवृत्त कर्मचारीहरूले राज्यबाट पाउनुपर्ने सेवासुविधाको विषयमा कुरा उठान गरेको बताए । उनले राज्यको सेवा गरेबापत पाउने तलब र भत्ता फरक–फरक विषय भएको भन्दै आवाज उठाएको बताए ।

सङ्घको आजीवन सदस्यसमेत रहेका भण्डारीले सङ्घको कार्यप्रति आफू सन्तुष्ट भएको बताए । सङ्घका अध्यक्ष यादवप्रसाद पराजुलीको अध्यक्षतामा शनिबार सम्पन्न कार्यक्रममा निवर्तमान प्रदेश सदस्य सावित्री जोशी श्रेष्ठ, धरान–४ का वडाध्यक्ष धनबहादुर राई, धरान–५ का वडाध्यक्ष तथा संस्थापक सचिव मनप्रसाद लिम्बूलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा नयाँ आजीवन सदस्यलाई प्रमाण–पत्र पनि वितरण गरिएको सङ्घका महासचिव कुमार श्रेष्ठले जानकारी दिए ।

महासचिव श्रेष्ठले राष्ट्र सेवक सेवा निवृत्त कर्मचारीहरूलाई र एकल महिलाहरूलाई राज्य कोषबाट दिइँदै आएको सामाजिक सुरक्षा भत्ता र एकल महिला भत्तामा विभेद गर्दै आएको बताए । सङ्घको आर्थिक वर्ष २०७८/०७९ को आय–व्यय कोषाध्यक्ष मञ्जु भण्डारीले प्रस्तुत गरिन् ।