भद्रपुर । प्रहरीले सामान नियन्त्रणमा लिएको भन्दै विभिन्न क्षेत्रका महिलाहरूले छुटाउन आग्रह गर्दा प्रहरी बिट, इँटाभट्टामा तनाव सिर्जना भएको छ ।

महिलाहरूले अनावश्यक दुःख दिँदै प्रहरीले सामान नियन्त्रणमा लिँदा सास्ती भएको बताएका छन् । सोमबार केही महिलाहरूले भारतबाट ल्याउँदै गरेको सामान प्रहरीले नियन्त्रणमा लिएको थियो । ‘सामान नाकाबाटै ल्याएको हो तर, काँकडभिट्टामा प्रहरीले छाडिदियो, यहाँ चाहिँ किन नियन्त्रणमा लिएको ?’–महिलाहरूले प्रश्न गरेका थिए । यता प्रहरी बिट इँटाभट्टाका असइ हेम भुजेलले सामान चेकजाँचका लागि भन्दै माथिबाटै आदेश आएपछि सोहीअनुसार चेकजाँच गरेको र धेरै परिमाणमा सामान भेटिएकाले नियन्त्रणमा लिएको बताए ।

‘चेकजाँच गर्नू भनी माथिबाटै आदेश आउँछ, सोहीअनुसार चेक गर्दा एकैजनाको धेरै मात्रामा चिनी, कपडालगायतका सामान भेटिएपछि नियन्त्रणमा लिएका हौं’–उनले भने । महिलाहरूले भने घरमा प्रयोग हुने सामान मात्रै ल्याएको दाबी गरेका छन् । झापाका विभिन्न नाकामा साना तथा ठूला कारोबारीले भारतबाट खरिद गरी नेपालको भन्सार छलेर अवैध बाटोबाट सामान भिœयाउँदै आइरहेपछि प्रहरीले बरामद गर्दै आइरहेको छ ।

चालु आर्थिक वर्षको हालसम्म एक करोड रुपैयाँभन्दा माथि राजस्व सङ्कलन गरिसकेको जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्कले देखाएको छ । जिल्लामा १ सय ४४ दशमलव २ किलोमिटर खुला सिमाना रहेको छ ।