विराटनगर । विराटनगरमा गत चैत ५ गते भएको प्रदर्शनको क्रममा घाइते भई उपचारको क्रममा मृत्यु भएका पदमबहादुर लिम्बू लाजेहाङको परिवारलाई तत्कालका लागि तीन लाख रुपैयाँ राहत दिने कोशी प्रदेश सरकारले निर्णय गरेको छ ।

प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । कोशी नाम खारेजीको माग गर्दै भएको आन्दोलनमा घाइते भएका लाजेहाङको शुक्रबार मृत्यु भएको थियो ।

‘कोशी प्रदेश नामकरणका सम्बन्धमा चैत्र ५, २०७९ मा विराटनगरमा भएको विरोध कार्यक्रममा सहभागी भई चैत १० गते  पदम लिम्बू (लाजेहाङ) को दुःखद् निधनप्रति गहिरो दुःख व्यक्त गर्दै मृतक पदम लिम्बूप्रति हार्दिक श्रदाञ्जली एवम् परिवारजनमा गहिरो दुःख एवम् हार्दिक समवेदना प्रकट गर्दछ’ प्रदेश सरकारको निर्णयमा भनिएको छ, ‘तत्काल राहत स्वरूप मृतकका परिवारलाई तीन लाख उपलब्ध गराउने र यस सम्बन्धमा नेपाल सरकारद्वारा गठित छानबिन समितिलाई सहजीकरण गर्ने ।’

बैठकले प्रदेश प्रशिक्षण प्रतिष्ठान, कलबल्गुडी झापाको रिक्त रहेको निर्देशक पदमा प्रदेश सचिव कृष्ण सापकोटालाई जिम्मेवारी दिएको छ । यस्तै पर्यटन, वन वातावरण मन्त्रालयद्वारा पेश गरिएको प्रदेश वातावरण संरक्षण ऐन २०७६ र प्रदेश वन ऐन २०७७ संशोधन विधेयकलाई प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा पेश गरिएको समपूरक अनुदान कार्यविधि संशोधन प्रस्ताव पारित गरेको छ भने प्रदेश नामकरणमा भूमिका खेल्ने प्रदेशसभा सभामुख, उपसभामुख, प्रदेशसभा सदस्यहरूलगायतलाई धन्यवाद र बधाई ज्ञापन गरेको छ ।