धरान । नेपालको शिक्षा क्षेत्र सुधारका लागि विश्व बैङ्कले १५ अर्ब १८ करोड (१२ करोड अमेरिकी डलर) ऋण दिने भएको छ । विद्यालय शिक्षा क्षेत्र कार्यक्रमका लागि यो रकम सहुलियतपूर्ण ऋण दिने विषयमा बैङ्कको सञ्चालक समितिले अनुमोदन विश्व बैङ्कले विज्ञप्तिमार्फत् जनाएको छ ।

नेपालको सार्वजनिक शिक्षा क्षेत्र अस्त–व्यस्त छ । यसअघि पनि शिक्षा सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन भए पनि शिक्षाको अवस्था सुधार हुन सकेको छैन । सरकारले यसअघि सञ्चालित विद्यालय शिक्षा क्षेत्र कार्यक्रमको निरन्तरताका लागि ऋण लिन लागेको हो ।

नयाँ कार्यक्रमले विद्यार्थीको गुणस्तरीय सिकाइ सुनिश्चित गर्न शिक्षक निगरानी व्यवस्था लागू गर्ने बैङ्कले जनाएको छ । उच्च आधारभूत र माध्यमिक तहका अङ्ग्रेजी, गणित र विज्ञान विषयको शिक्षणलाई यो कार्यक्रममार्फत् प्रभावकारी बनाइने जनाइएको छ ।

खासगरी हरित कक्षाकोठा, डिजिटल शिक्षण एवम् सिकाइमा सुधारका लागि यो रकम खर्च हुनेछ । त्यसैगरी कक्षा ६–८ का छात्रा, अपाङ्गता भएका विद्यार्थी र आर्थिक रूपमा कमजोर परिवारका बालबालिकाको शैक्षिक सुधारका लागि छात्रवृत्ति दिन सघाउने विश्व बैङ्कले जनाएको छ ।