विराटनगर । विराटनगर महानगरपालिकाभित्रको मुख्य बजार क्षेत्रमा सडकलाई पार्किङ निषेध गर्ने अभियानलाई निरन्तरता दिएको छ । विराटनगर महानगरपालिकाले ट्राफिक प्रहरीले गरेको पार्किङलाई समेत हटाएको छ ।

महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा नगर प्रहरीले जिल्ला ट्राफिक प्रहरी कार्यालयअगाडि सडक र फुटपाथमा ट्राफिक प्रहरीले राखेका सवारी साधनहरू हटाएको हो ।

ट्राफिक प्रहरी कार्यालयअगाडि सवारी पार्किङ गर्दा आवत–जावतमा समस्या भएको भन्दै महानगरमा अत्यधिक गुनासो आएपछि मेयर कोइराला आफै उपस्थित भएर पार्किङ गरेका सवारी हटाउन  लगाए । महानगर प्रहरीसहित पुगेका मेयर कोइरालाले सडक र फुटपाथमा पार्किङ गरेका सवारीलाई तत्काल हटाउन निर्देशन दिए ।

सडकमा राखेका मोटरसाइकल नगर प्रहरीले हटाएको थियो भने चारचक्के सवारी साधन ट्राफिक प्रहरी आफैले हटाएको थियो । कारबाहीमा परेका सवारी साधनलाई ट्राफिक प्रहरीले कार्यालयअगाडिको सडक र फुटपाथमा वर्षौंदेखि राख्दै आएको थियो । महानगरले मुख्य बजार क्षेत्रलाई पार्किङ निषेध गरेकाले ट्राफिक प्रहरी कार्यालयअगाडिको सडकमा पार्किङ गर्दा गलत सन्देश जाने भन्दै ट्राफिक प्रमुख सुनिलकुमार श्रेष्ठलाई मेयर कोइरालाले अबदेखि पार्किङ नगर्न आग्रह गरे । नियम कानून सबैलाई बराबर लाग्ने भन्दै मेयर कोइरालाले विराटनगरलाई व्यवस्थित बनाउने अभियानमा आफूहरू लागेको सुनाए ।

‘ट्राफिकका इन्स्पेक्टर सा’व पनि यहीँ हुनुहुन्छ । मैले उहाँलाई सडकमा सवारी नराख्न आग्रह गरिसकेको छु । अबदेखि यहाँ सर्वसाधारणले सवारी पार्किङ भएको देख्नु हुनेछैन’ मेयर कोइरालाले भने, ‘ट्राफिक प्रहरी कार्यालयअगाडिलाई नो पार्किङ किन नगरेको भनेर धेरैले गुनासो गर्नुभयो । कतिले त सानालाई ऐन ठूलालाई चैन हो कि के हो मेयर सा’व भन्नुभयो । विराटनगरमा नियम कानून सबैलाई बराबरी लाग्छ ।’

विराटनगरवासीले बजारलाई पार्किङ निषेध गरे पनि ट्राफिक कार्यालयअगाडि गर्न नसकेको भन्दै धेरै नै गुनासो गरेका कारण आफै उपस्थित भएर सवारी साधन हटाएको उनको भनाइ थियो । जनगुनासोलाई सम्बोधन गर्दै अबदेखि ट्राफिक कार्यालयअगाडिको सडकलाई पनि पार्किङ निषेध गरिएको नगर प्रहरीका प्रमुख राजन पौडेलले बताए ।