विजयपुर । बैङ्क तथा वित्तीय संस्थाको चर्को ब्याजदरका कारण व्यवसायीमा परेको प्रभावविरुद्धको महाअभियान अन्तर्गत धरानमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै व्यवसायी दुर्गा प्रसाईंले २० लाख रुपैयाँसम्म ऋण मिनाहा गर्नुपर्ने बताएका छन् ।

महाअभियान अन्तर्गत शनिबार धरानको विरोधसभालाई सम्बोधन गर्दै व्यवसायी प्रसाईंले बैङ्क तथा वित्तीय संस्थाले ब्याजदर घटाउनुका साथै २० लाख रुपैयाँसम्म हुनेको ऋण मिनाहा गर्नुपर्ने बताएका हुन् । प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म र नागरिक बचाउन महाअभियान चलाइरहेका छन् । उनले जनता बचाउने अभियान भएकाले सबैलाई साथ दिन आग्रह गरे । उनले बैङ्क तथा वित्तीय संस्थाले नागरिकलाई झुक्याएको बताए । उनले भने, ‘बैङ्कले मलाई पनि झुक्याइरहेको छ ।’

उनले नागरिकलाई नआत्तिन आग्रह पनि गरे । उनले भने, ‘तपाईंको सहयोगको लागि म आएको छु, नआत्तिनुहोस् ।’ उनले बैङ्क तथा वित्तीय संस्थाको विकृति, विसङ्गति समाप्त गर्ने बताए । उनले भने, ‘अभियान सञ्चालन गरेपछि बैङ्कका कर्मचारीले धम्काउन छाडेका छन् रे । तपाईंहरूले साथ दिनुहोस् । अभियान सफल बनाएरै छाड्छु ।’ उनले १ करोड नेपाली वैदेशिक रोजगारमा रहेको दाबी गर्दै नेताहरूका कारणले युवावर्ग पलायन भएको बताए ।

तर, भर्खरै प्रकाशित जनगणनाको तथ्याङ्कले २१ लाख मानिस वैदेशिक रोजगारमा रहेको देखाएको छ । सङ्घर्ष समितिका संयोजकसमेत रहेका सुनचाँदी,  रत्न तथा आभूषण व्यवसायी सङ्घ कोशी प्रदेशका अध्यक्ष भीषण शाक्यले वित्तीय संस्थाको विकृति विरुद्धको अभियान भएको बताए । उनले भने, ‘हाम्रो अभियान कुनै पनि बैङ्क तथा वित्तीय संस्थाको विरुद्ध होइन, बेथितिको विरुद्ध हो ।’ विरोधसभालाई रमा सिंह, श्रीराम कँडेल, पुर्व सानू, सतिस पोख्रेल, देवेन्द्र कँडेल, धर्मराज खड्का र शम्भु थापालगायतले सम्बोधन गरेका थिए ।