अष्ट्रेलिया । ‘जहाँ इच्छा, त्यहाँ उपाय र तिमी चिताऊ, म पुर्याउँछु ।’ भन्ने चर्चित उक्तिलाई यी ३ नेपालीले सायद जीवनका अनेकौ कष्टसाध्य यात्राहरुमा मनभरि राख्दै, संगाल्दै हिंडे होलान् । आत्तिनु, मात्तिनु र पात्तिनुको ठीक विपरित धार नम्रता, सहयोगीभाव, सहनशीलतालाई मूल सिद्धान्त बनाएर सुनौलो भविष्यको परिकल्पनामा लागि रहे उनीहरु । भाग्यमा भन्दा कर्ममा विश्वास गर्ने ती नेपाली युवाहरुको सपना र परिकल्पना आज आएर साकार हुने भएको छ ।

रेष्टुरेण्ट नै खोलिन्छ भन्ने सोचेका चाहिं सायद थिएनन् होला । तर यही चैत्र २२ गते तदनुसार अप्रिल ५ मा राम्रै चलेको रेष्टुरेण्टलाई ४ जनाको नयाँ व्यवस्थापनमा नयाँ उत्साहका साथ रिलन्च (पुनर्संचालन) हुने भएको छ ।  अष्ट्रेलिया जहाँ अवसरै अवसर छ र चुनौति नै चुनौति पनि छ । कर्ममा विश्वास गर्नेहरुका लागि चुनौति पनि अवसरका रुपमा आउने रहेछ भन्ने कुरा उनीहरुले पाएको यो अवसरले पुष्टि गरेको छ । 

नेपाली युवाहरुको वर्षौदेखिको केही नयाँ गर्ने प्रयासपछि जागिरे जीवनलाई स्थगन गरेर क्यानबेरामा इटालियन परिकारका पारखीहरुलाई लक्षित गरी रेष्टुरेण्टको नयाँ व्यवस्थापनसहितको नयाँ सस्करण सुरु हुन लागेको बताउँदा हर्षविभोर हुनु स्वाभाविकै हो नि भन्छन् , सञ्चालकहरु मध्यका निश्चल कार्की र राजा गिरी । त्यसो त सञ्चालकहरु साम रिचन, निरञ्जन गिरीे पनि आफ्नो खुशीको सीमा नै नभएको बताउ“छन् । भविष्यको यात्रा अनि यसको सफलता हामीले अपनाउने सहकार्य, आपसी सद्भाव, परिश्रम, इमान्दारितामा र नेपालीपनमा निर्भर हुने कुरा बताउँछन् सञ्चालकहरु ।

विगत ३ वर्षदेखि स्थापित ‘कुसिना रिष्टोरेण्टे’ क्यानबेराको निकोल्समा संचालन गरिरहेकै बेला नेपालीहरुको त्याग, परिश्रम र इमान्दारिता देखेर आफूले चलाईरहेको स्थापित रेष्टुरेण्टलाई नेपाली युवाहरुसँग साझेदारी फर्मको रुपमा लाने निधो गरेको बताउँछन् यसका संस्थापक साम रिचन ।

आफूहरुले पनि क्यानबेराका नेपाली समुदायलाई लक्षित गरी उक्त व्यवसाय सुरु गर्न लागेको बताउँछन् ती नेपाली युवाहरु । उनीहरु भन्छन् ‘ यो व्यवसाय फगत व्यवसाय मात्रै हुने छैन , क्यानबेरामा रहेका नेपाली समुदायहरुबीचको एउटा सम्पर्क थलोको रुपमा यो रेष्टुरेण्ट स्थापित हुनेछ र दुखः सुखः साटासाट गर्ने थलोको रुपमा समेत विकास हुने अपेक्षा लिएका छौं । ’

अष्ट्रेलियन डलर करिब साढे चार लाख डलर ( ने.रु. करीब ४ करोड) को सँयुक्त लगानीमा उक्त रेष्टुरेण्ट सञ्चालन हुन लागिरहेको सञ्चालकहरु बताउँछन् ।