विराटनगर। नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको अध्यक्षमा विराटनगरका उद्योगी राजेन्द्र राउत निर्वाचित भएका छन् ।

झापाको बिर्तामोडमा बिहीबार सम्पन्न भएको महासङ्घको साधारणसभाले राउतलाई सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको हो । महासङ्घको उपाध्यक्षमा जिल्ला तथा नगर उद्योग वाणिज्य महासङ्घबाट भीम पौडेल र एशोसिएट्सबाट कुमारमणि पोखरेल चयन भएका छन् ।

पौडेलले यसअघि अध्यक्षमा दाबी गरे पनि उपाध्यक्षमा बस्न तयार भएपछि सर्वसम्मतिको वातावरण बनेको हो । महासङ्घको कोषाध्यक्षमा सुवास आचार्य चयन भएका छन् ।

कार्यसमिति सदस्यहरूमा जिल्ला तथा नगर उद्योग वाणिज्य महासङ्घका तर्फबाट ध्रुवलाल श्रेष्ठ, वीरेन्द्रकुमार साह, प्रितम खड्गी, प्रकाश सिवाकोटी, ऋषिराज तिम्सिना चयन भएका छन् । वस्तुगतबाट राजन श्रेष्ठ र दीपक पाण्डे सदस्यमा निर्विरोध निर्वाचित भए ।

यस्तै एशोसिएट्सबाट रविनकुमार दाहाल, भविसकुमार श्रेष्ठ र श्रवणकुमार अग्रवाल निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत पुनमकुमार गुप्ताले जानकारी दिए ।

राउत दुई पटक प्रदेश उद्योग वाणिज्य सङ्घको उपाध्यक्ष र केन्द्रीय सदस्य भइसकेका छन् । उनी केही समयअघि उदयपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा सर्वसम्मत निर्वाचित भएपछि प्रदेश अध्यक्ष बन्ने बाटो खुलेको थियो ।