बिर्तामोड । झापाको दमकमा मुख्य कार्यालय रहको मेची सहकारीले निर्माण गरेको ५७ वटा घर सदस्यलाई हस्तान्तरण गरेको छ । पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितीमा सहकारीले निर्माण गरेको घर सदस्यलाई हस्तान्तरण गरेको हो ।

समारोहका प्रमुख अतिथि ओलीले सहकारी जगतमा दमकको मेची सहकारीले गरेको काम नमुना भएको भन्दै प्रशंसा गरेका छन् । उनले सहकारी संस्थाहरुको माध्यमबाट कम पैसा भएका नागरिकहरु समेत घरका मालिक बन्न सक्छन भन्ने नमुना मेची सहकारीले प्रस्तुत गरेको पनि बताए ।

ओलीले दमककै तुलसी सहकारीका पीडितहरुको डेलिगेशन समेत आफूसँग आएको बताउँदै सर्वसाधारणलाई ठगी गर्न खोलेका सहकारी र वास्तविक रुपमानै सहकारीताको अभ्यास गरिरहेका सहकारीहरुको पहिचान गरेर मात्रै कारोबार गर्न सुझाए ।

कम्पनीका रुपमा नाफा कमाउन खोलिएका सहकारी पनि छन, सहकारीकै रुपमा पनि सहकारी चलेका छन – अध्यक्ष ओलीले भने । उनले कृषि क्षेत्रमा सहकारीका माध्यमबाट ठुलो परिवर्तन गर्न सकिने भएकाले त्यसतर्फ ध्यान दिन सहकारीकर्मी र अभियान्ताहरुलाई आग्रह गरे ।

मेची सहकारी संस्थाका अध्यक्ष नारायण प्रसाद भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख खोमप्रसाद बगालेले मेची आवास क्षेत्रमा कूल ५७ वटा घरहरु निर्माण गरिएको बताए । बगालेले सो अवसरमा संस्था स्थापनाको २५ बर्षको इतिहासमा वित्तीय तथा सामाजिक क्षेत्रमा प्राप्त गरेका महत्वपूर्ण उपलब्धिहरुका बारेमा जानकारी गराएका थिए ।

उनले संस्थामा ३ अर्ब ६५ करोड बढीको वासलात रहेको जनाए । त्यस्तै सो क्षेत्रमा बसोबासका लागि घर जग्गा खरिद गरेका रेखा बुढाथोकी र बिमला कटुवाललाई जग्गा धनी दर्ताको प्रमाण पुर्जा समेत अध्यक्ष ओलीले हस्तान्तरण गरेका थिए ।

सो कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशब बडाल, राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामचन्द्र उप्रेती लगायत सहकारी अभियन्ताहरुले सहकारीमा देखिएका समस्याहरु, सहकारी आन्दोलन र सदस्यहरुको भुमिका लगायतका बिबिध बिषयमा जानकारीमुलक प्रशिक्षण समेत दिएको संस्थाले जनाएको छ ।