विराटनगर ।  चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएसको प्रवेश परीक्षामा सुनसरीकी अदिती कुमारी जैन सर्वोत्कृष्ट भएकी छन् ।

प्रवेश परीक्षामा सहभागी जम्मा १८ हजार बढी विद्यार्थीमध्ये बुधबार सार्वजनिक नतिजाअनुसार ६ हजार ६ सय ६९ विद्यार्थी उत्तीर्ण भएका छन् । जसमा सुनसरीको हरिनगर गाउँपालिका–४ की २० वर्षीया अदितीले २ सय पूर्णाङ्कमा १७१.५ अङ्क प्राप्त गरेर छात्रातर्फ सर्वोत्कृष्ट भएकी हुन् । उनले समग्रमा चौथो स्थान हासिल गरिन् ।

उनले विराटनगरस्थित शिक्षादीप कलेजबाट विज्ञान सङ्कायबाट कक्षा १२ मा ३.७९ जीपीए ल्याएर उत्तीर्ण गरेकी थिइन् । एमबीबीएसको प्रवेश परीक्षामा सर्वोत्कृष्ट भएपछि अदिती र उनका बाबु अजय जैनलाई बिहीबार कलेजले एक कार्यक्रम आयोजना गरी सम्मान गरेको छ । कार्यक्रममा अदितीका बुबा अजयले छोरीको मेहनतको कारणले आज सफलता मिलेको बताए । उनले भने, ‘छोरीको प्रगतिमा एकदमै खुसी छु ।’

अदितीका बुबा अजयले हरिनगरमा हार्डवेयरको सामान्य व्यापार गर्दै आएका छन् । आमा सुदा गृहिणी हुन् । किसान परिवारमा जन्मिएकी अदितीलाई घरबाट विराटनगर पुग्न झण्डै ३० किलोमिटर लामो यात्रा गर्नुपर्छ । उनले हरिनगरा माविबाट ३.७ जीपीए ल्याएर एसईईमा उत्तीर्ण गरेकी थिइन् । त्यसपछि विराटनगरस्थित शिक्षादीप कलेजमा कक्षा ११ र १२ दुवैमा नै ३.७९ जीपीए ल्याएकी थिइन् ।

सानैदेखिको चिकित्सक बन्ने सपना रहेको उनले सुनाइन् । ११ र १२ कक्षाको पढाइ नसक्दै उनले चिकित्सा शिक्षा आयोगको पाठ्यक्रम पढेर तयारी थालेकी थिइन् । ‘कलेजले पनि मलाई सपोर्ट ग¥यो । सरहरूले पनि गाइड गर्नुभयो’ उनले भनिन्, ‘मैले एमबीबीएसको तयारीका लागि ५ घण्टाभन्दा बढी कुनै पनि दिन पढिनँ । धेरै समय दिएरभन्दा राम्रोसँग बुझेर पढ्नुपर्ने रहेछ ।’

उनले आफूले नबुझेको कुरा पटक–पटक दोहोर्याएर बुझ्ने प्रयास गरेको र नजानेका कुराहरू वेबसाइटमा हेरेर बुझेको बताइन् । अदिती आफूले एमबीबीएसमा पूर्णाङ्क नै ल्याउने योजनासाथ पढेको बताइन् ।

अब उनले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा एमबीबीएस पढ्नेछिन् । भविष्यमा अध्ययनबाहेक विदेश नजाने दृढ सङ्कल्प अदितीमा छ । उनी भन्छिन्, ‘म अवसर आए पनि नेपाल छाडेर जान्नँ । आफ्नै देशको चिकित्सा क्षेत्रले प्रेरणा दिएको हो । यसलाई नै सुधार गर्न म लाग्छु ।’

शिक्षादीप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का वातावरण, शिक्षकहरूको डिभोसनलगायतका कारण शिक्षादीपले हरेक वर्ष उत्कृष्ट नतिजा हासिल गर्ने गरेको बताउँछन् । ‘एमबीबीएको प्रवेश परीक्षामै शिक्षादीप कलेजमा अध्ययनरत छात्राले देशभरिमा छात्रातर्फ टप गरिन्’ उनले भने, ‘यसले शिक्षादीप कलेजलाई गौरव गर्ने अवसर दिएको छ ।’

कलेजका अध्यक्ष तथा प्रदेश सांसद् भीम पराजुलीले अनुशासित, मेहनतको कारणले अदितीले सफलता पाएको बताए । कलेजले गुणस्तरीय शिक्षा प्रदानमा कुनै सम्झौता नगरी अगाडि बढेको बताए । यसअघि पनि शिक्षादीप कलेजबाट अध्ययन गरेका थुप्रै विद्यार्थीहरूले एमबीबीएसको प्रवेश परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याएको कलेजका सञ्चालक रामचन्द्र अधिकारीले बताए । यसअघि २०७१ सालमा पनि गौरव नेपाल एमबीबीएस प्रवेश परीक्षामा टप फोरमा परेका थिए । यस्तै सुशील यादव, सुजन पुरीलगायतका विद्यार्थीहरू एमबीबीएसको प्रवेश परीक्षामा सर्वोत्कृष्ट भएको उनले बताए । मेडिकल र इन्जिनियरिङतर्फ शिक्षादीपबाट अध्ययन गर्ने विद्यार्थीहरूले प्रत्येक वर्ष छात्रवृत्तिमा नाम निकाल्ने गरेको छ ।