उदयपुरगढी । हिमाल, पहाड हुँदै तराईको जिल्ला जोड्ने उदयपुरको उदयपुरगढी गाउँपालिका ७ नम्बर वडाको सडकमा रहेका दुईवटा खोलामा पक्की पुल बनेपछि स्थानीयमा खुसियाली छाएको छ । ‘कोल्टे–मैनटार–बाघखोर –चुरुम्फा सडक’ अन्तर्गत बाउन्न खोला र बलान खोलामा पक्की पुल बनेपछि स्थानीयमा खुसियाली छाएको हो ।
मधेश प्रदेशको सप्तरी जिल्ला भएर उदयपुरगढी हुँदै खोटाङको हसेली र सोलुखुम्बु जोड्ने यो सडकको दुई वटा खोलामा दुई वर्षमा पक्की पुल बनेपछि स्थानीयमा खुसियाली छाएको उदयपुरगढी–७ का कुलबहादुर राईले बताए । उदयपुर र सप्तरी जिल्ला छुट्याउने बाउन्न खोला हो । बाउन्न खोला र बलान खोलामा पक्की पुल निर्माण भएपछि धार्मिक पर्यटकीयस्थलको रूपमा प्रख्यात हलेसी जान पनि सहज भएको छ । ‘कोल्टे–मैनटार–बाघखोर–चुरुम्फा सडक’ अन्तर्गत अझै दुईवटा खोलामा पुल आवश्यक पर्ने देखिन्छ । सेउती खोलामा पुल र कोल्टे–मैनटार–बाघखोर–चुरुम्फा सडक कालोपत्रे भयो भने हसेली जान दूरी घट्नेछ । उदयपुरको गाईघाट हुँदै कटारी भएर हलेसी जाँदा करिब पाँचघण्टा लाग्ने गरेको छ । तर, ‘कोल्टे–मैनटार–बाघखोर–चुरुम्फा सडक’ पिच भयो भने मधेश प्रदेशको सप्तरीबाट तीनघण्टामा हलेसी पुग्न सकिने यहाँका स्थानीय बताउँछन् ।
प्रदेश १ र मधेश प्रदेशको अन्तर जिल्ला जोड्ने ‘कोल्टे–मैनटार–बाघखोर–चुरुम्फा सडकमा’ पुल बनेपछि गाउँगाउँमा गाडीको पहुँच पुगेको छ । आवत–जावत मात्रै नभएर गाउँका उत्पादनलाई बजारसम्म पु¥याउन पुल बनेपछि सहज भएको उदयपुरगढी गाउँपालिका–७ का दुर्गाप्रसाद मगरले बताए । ‘पुल नहुँदा चाँडै पारी जानु छ भने डुङ्गा वा गाडीको टायर प्रयोग गरेर बलान र बाउन्न खोला तर्नुपर्ने बाध्यता थियो’ प्रसन्न मुद्रामा उनले भने, ‘अब गाउँमा उब्जिएका तरकारीलगायत नगदेबाली बेच्न बाटो खुलेको छ ।’ स्थानीय उत्पादन लिएर बजारमा बिक्रीको लागि र उपचारको लागि छिमेकी जिल्ला सप्तरी र प्रदेश १ राजधानी विराटनगर जान सहज भएको उनले बताए ।
सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय प्रदेश नं. १ का मन्त्री दुर्गाप्रसाद चापागाईंले शनिबार दुवै पुलको उद्घाटन गरेसँगै उदयपुरगढीमा उत्साह छाएको प्रष्ट देखिन्थ्यो । अत्यन्तै आवश्यक ठाउँमा पुल बन्दा मन्त्री चापागाईंले खुसी व्यक्त गरे । ‘पुल अत्यन्तै आवश्यक ठाउँमा बनेको छ’ उनले भने, ‘पुलबाट सहजीकरण मात्र नभएर जीवनस्तर उकास्न लाग्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’ प्रदेश सरकार बनेपछि स्थानीयस्तरमा विकासको कामले गति लिने उनले बताए । ‘कोल्टे–मैनटार–बाघखोर–चुरुम्फा’ सडकको २० किलोमिटर ग्राभेल सम्पन्न भएको उनले बताए । यसलाई स्तरोन्नति गरेर कालोपत्रे गरी प्रदेश सरकार अगाडि बढ्ने उनले बताए । ‘चौकीभन्जारसम्मको सडकको पनि ट्रयाक खोल्ने काम भएको छ । यसलाई ग्राभेल गरेर स्तरोन्नति गर्दै कालोपत्रे गराउन मन्त्रालय लागिपर्नेछ’–उनले भने । प्रदेश गौरवको योजनाको रूपमा यसलाई अगाडि बढाएर लैजाने उनले बताए ।
तीन तहको सरकारबीच समन्वय गरेर विकास निर्माणको काम हुने उनले बताए । ‘साना योजनाहरूमा स्थानीय सरकारले काम गरेर अगाडि बढ्नेछ । स्थानीयले नसकेको मझौला खालको योजनाहरू प्रदेश सरकारले गर्नेछ । त्यसभन्दा ठूलो योजना सङ्घीय सरकारले गर्नेछ’ मन्त्री चापागाईंले भने, ‘यसरी विकासको काम तीन तहको सरकारले समन्वय गरेर अगाडि बढ्नेछ ।’ प्रदेश सरकारलाई जनमुखी, उत्तरदायी बनाएर अगाडि बढाउनुपर्ने बताए । यसको आवश्यकता र औचित्यलाई सिद्ध गर्नुपर्ने जिम्मेवारी अहिलेको प्रदेश सरकारलाई भएको बताउँदै यसमा लागिपरेको उनले बताए ।
उद्घाटन गरिएका दुवै पुल उदयपुरको क्षेत्र नं. २ (१) बाट निर्वाचित प्रदेश सांसद् नारायणबहादुर मगरको क्षेत्र हो । उनको पहलमा दुवै पुल प्रदेश १ सरकारको सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको बजेट निर्माण भएको हो । ‘म चुनावमा उठ्दैदेखि पुल यहाँका स्थानीयको माग थियो’ सांसद् मगरले पुल उद्घाटन समारोहमा भने, ‘समयमै पुल बनाइयो, स्थानीयभन्दा धेरै खुसी आफै भएको छु ।’ उनले उदयपुरगढी हुँदै हलेसीलाई जोड्न आवश्यकताअनुसार अन्य पुल र सडकहरू पनि बन्ने क्रममा रहेको जानकारी दिए । ‘कोल्टे–मैनटार–बाघखोर– चुरुम्फा’ हुँदै हसेली जोड्ने सडक अहिले धमाधम निर्माण भइरहेको छ । यो सडक कालोपत्रे गरेर प्रदेश गौरवको आयोजनाको रूपमा लैजाने उनले बताए ।
बाउन्न खोलाको ७२.१० मिटरको पक्की पुल ९ करोड ५९ लाख ९८ हजार ७ सय ६ रुपैयाँ लागतमा निर्माण भएको हो । २०७७ जेठ ११ गते सम्झौता भएर इसीसी, केएमजेवाइ काठमाडौंले दुई वर्ष पनि पूरा नभई निर्माण पूरा गरेर उद्घाटन गरिएको हो । ८.४ मिटर चौडाइ, ६ मिटर क्यारिज–वे चौडाइ, स्पान सङ्ख्या २ र फुटपाथको चौडाइ १.२० मिटर दुवैतर्फ रहेको पूर्वाधार विकास कार्यालय उदयपुरका प्रमुख गङ्गासागर यादवले जानकारी दिए ।
यस्तै बाउन्न खोलादेखि करिब दुई किलोमिटर पश्चिममा रहेको बलान खोलाको पक्की पुल ५ करोड ८ लाख ८९ हजार ८ सय २५ रुपैयाँमा सपना निर्माण सेवा हेटांैडाले २०७७ असार ९ गते ठेक्का लिएर काम सुरु गरेको थियो । पुलको लम्बाइ ३७.४ मिटर, स्पान सङ्ख्या १, चौडाइ ८.४ मिटर, क्यारिज–वे चौडाइ ६ मिटर, फुटपाथको चौडाइ १.२० मिटर दुवैतर्फ रहेको छ । दुवै पुलमा कुनै त्रुटी देखिए एक वर्षसम्म निर्माण कम्पनीले सुधार र निर्माण गर्नुपर्ने सम्झौता रहेको कार्यालय प्रमुख यादवले बताए ।