भद्रपुर । हात्तीबाट जोगिन घरअगाडि टाँगेको बिजुलीको करेन्ट लागेर बिर्तामोड–७ बाह्रघरेका एकजनाको मृत्यु भएको छ ।

शुक्रबार राति पिसाब फेर्न निस्कँदा करेन्ट लागेर ४९ वर्षीय खेम श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । करेन्ट लागेर सिकिस्त भएका श्रेष्ठको उपचारका क्रममा शुक्रबार राति साढे ११ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सुरज कार्कीले बताए ।

श्रेष्ठले जङ्गली हात्ती धपाउन आफ्नै घरवरिपरि करेन्ट टाँगेका थिए । हात्ती प्रभावित क्षेत्रमा मानिसहरूले त्यस किसिमको जोखिमपूर्ण उपाय अपनाउँदै आएका छन् ।