धरान । पूर्वी पहाडी जिल्लालाई तराई हुँदै सङ्घीय राजधानीसँग जोड्ने कोसी राजमार्ग निर्माणको काम झन्डै आधा सकिएको छ । कतै कालोपत्रे भइरहेको छ त कतै ट्रयाक खोल्न बाँकी सो राजमार्ग निर्माण औसतमा ५० प्रतिशत सकिएको हो ।

सो करिडोरमा अहिलेसम्म ५७ किलोमिटर सडक ग्राभेल भएको आयोजनाले जनाएको छ । कालोपत्रे गर्न चार ठेक्कामार्फत् काम भइरहेको र तीनको अवधि अब दुई वर्ष रहेको उत्तर–दक्षिण करिडोर आयोजना निर्देशनालयका प्रमुख श्यामबहादुर खड्काले बताए । कुल ४९ किमी लम्बाइमा दोभानसम्म नाली बनाउने, पर्खाल लगाउनेलगायतका संरचनाको काम भइरहेको उनले बताए । उनले भने, ‘यस वर्ष संरचना बनिसकेपछि कालोपत्रेका लागि प्रक्रिया अघि बढाइनेछ ।’ 

पछिल्लो समयमा निर्माण कम्पनीले स्रोत बढाएर काम गरिरहेको उनले बताए । आयोजना आफैले गर्नुपर्ने ठाउँमा ट्रयाक खोलिसकिएको र कडा चट्टान भएको खण्डमा सेनाले ट्रयाक खोलिरहेको आयोजनाका प्रमुख खड्काले बताए । किमाथाङ्काबाट तल खाँदबारीलाई शून्य मान्दा एक सय ३४ किमीदेखि देखि एक सय ४८ किमीसम्म काम सम्पन्न भइसकेको उनले बताए ।

कडा चट्टान रहेको साढे १० किमी सडकमा सेनाले ट्रयाक खोल्ने काम गरिरहेको आयोजनाले जनाएको छ । ट्रयाक खोलेपछि सेनाले हस्तान्तरण गर्ने र त्यसपछि नै स्तरोन्नतिको काम हुने आयोजना प्रमुख खड्काले बताए । करिडोरको चौडाइ नौ मिटर रहेको छ । झन्डै सात मिटर कालोपत्रे र त्यस बाहिर अरू संरचना निर्माण गरिने उनले बताए ।

मङ्सिर अगाडिसम्म काम कम भए पनि अहिले स्रोत परिचालन राम्ररी भइरहेको प्रमुख खड्काले बताए । निर्माण कम्पनीले जनशक्ति र उपकरण दुवै बढाएको उनले जानकारी दिए । उनले भने, ‘बीचमा निर्माण सामग्रीको समस्या आए पनि अहिले त्यसको समाधान भइरहेको छ ।’

बरुण र अरुण नदीको दोभानसम्मको सडक गाभ्रेल भइसकेको छ । दोभानदेखि माथि स्तरोन्नतिका लागि बजेट व्यवस्थापन गरी ठेक्का लगाउन स्रोत सुनिश्चित गर्न फाइल अघि बढाइएको उनले बताए । उनले भने, ‘अब ८० किमीभन्दा माथिको खण्डमा स्तरोन्नतिको काम अघि बढाइनेछ ।’

बरुण र अरुण करिडोरमा विद्युत्का परियोजना निर्माण भइरहेकाले त्यहाँका लागि आवश्यक सामग्री ल्याउन भारी सामान बोकेका गाडी गुडिरहेका र यसले गर्दा निर्माणाधीन सडकमा क्षति पुग्ने गरेको प्रमुख खड्काले बताए । सडक निर्माण सम्पन्न भएपछि सडकले क्षमताअनुसार भार थेग्न सक्ने भए पनि अहिले नै त्यो नसक्ने उनले बताए ।

सडक निर्माण सम्पन्न गर्न २०८१ सम्मको लक्ष्य लिइएकाले कामको गति बढाउँदा त्यो अवधिसम्म सकिने उनले बताए । अहिले ठेक्कामा गइसकेको खण्डमा काम सकिने र ठेक्का लगाउन बाँकी ठाउँमा केही बाँकी रहन सक्ने उनको भनाइ छ । आयोजनामा हालसम्म ८० किमी ग्राभेलमध्ये ४९ किमी कालोपत्रे भएको छ । असी किमीदेखि एक सय ६२ किमीसम्मको खण्ड ठेक्कामा जान बाँकी रहेको प्रमुख खड्काले बताए ।

करिडोरमा कुनै कुनै खण्डमा वर्षाको समयमा पहिरोको समस्या आइरहेको आयोजनाले जनाएको छ । विभिन्न स्थानमा पहिरोले गर्दा यातायात अवरुद्ध भइरहेको छ । आयोजनाअन्तर्गत जम्मा दुई पुल निर्माणाधीन, दुई सम्पन्न र चार ठेक्कामा जान बाँकी रहेको आयोजनाले जनाएको छ । चारमध्ये बरुण नदीमा झन्डै ७० मिटरको पुल निर्माणाधीन रहेको प्रमुख खड्काले बताए । बरुण नदीभन्दा माथि चार पुलको डिजाइन भएर ठेक्कामा जान बाँकी छ ।

करिडोर सडकमा ट्रयाकसमेत पूरै खोलिनसकिएकाले  सम्पन्न गर्ने अवधि बढाएर जानुपर्ने प्रमुख खड्काले बताए । राष्ट्रिय गौरवका अरू आयोजनाजस्तै यसमा पनि बजेटको समस्या छैन । वार्षिक बजेट पर्याप्त नभएमा थप माग हुने र बहुवर्षीय ठेक्काका लागि सहमति गरेर अघि बढाइने गरिएको उनले बताए ।

विगत वर्षमा निर्माण अलि ढिला भएकामा आयोजना र योजना कार्यालयले निर्माण कम्पनीलाई पटक–पटक ताकेता गरेर कामको गति बढाइरहेको उनले बताए । निर्माणको गति सुस्त रहेकामा अहिले कम्पनीसँग पटक– पटक बैठक गरेर गति बढाउन लागिएको हो ।

सो राजमार्गको निर्माण पाँच वर्षपहिले सुरु भएको हो । उक्त आयोजनाको कोसी करिडोर नामकरण भए पनि कोसी र तमोर नदीको किनारबाट निर्माण भइरहेको छ । दक्षिणमा भारतीय सीमादेखि उत्तरमा चीनको सीमासम्म जोड्ने सो राजमार्गले प्रदेश नं. १ का कतिपय जिल्लालाई प्रत्यक्ष र कतिपयलाई अप्रत्यक्षरूपमा लाभ दिनेछ । मोरङ, सुनसरी, धनकुटा, सङ्खुुवासभा र तेह्रथुमलाई प्रत्यक्ष रूपमा समेटे पनि सिङ्गो प्रदेश नै यसबाट लाभान्वित हुने अपेक्षा गरिएको छ । (रासस)