धरान । कामना सेवा विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रवीण बस्नेत र ऋणीसहित चारजना पक्राउ परेका छन् ।

कम धितो राखेर बढी ऋण प्रवाह गरेको आरोपमा सिइओ बस्नेतसहित हरेन्द्र दाहाल, चन्द्रबहादुर थापा र वीरेन्द्रसिंह भण्डारी रहेका छन् । घटनामा संलग्न अझै थप केही व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार नेपाल राष्ट्र बैङ्क हुँदै आएको सूचनाका आधारका इलाका प्रहरी कार्यालय दमकले यसबारे अनुसन्धान गरिरहेको छ ।

पक्राउ परेकाहरूमाथि बैङ्किङ कसुरसम्बन्धी मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसबारे बैङ्कले पहिले आन्तरिक अनुसन्धान गरेको थियो । त्यसक्रममा समस्या देखिएपछि राष्ट्र बैङ्कसँग अनुसन्धानका लागि पत्राचार गरेको थियो ।

बैङ्कले गरेको अनुसन्धानमा पनि समस्या देखिएपछि अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई जानकारी दिइएको थियो । सिआइबीले इलाका प्रहरी कार्यालय दमकलाई अनुसन्धान गर्ने जिम्मा दिएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।