वराहक्षेत्र । चक्कु देखाएर मोबाइल लुट्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार वराहक्षेत्र नगरपालिकाको वडा नं. २ पुनरवासका २० वर्षीय कर्म शेर्पा र २१ वर्षीय लोकबहादुर तामाङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चक्रघट्टीका इन्स्पेक्टर राजेश दत्तले जानकारी दिए ।

वडाको सत्र आरडीस्थित बीचपानीको जङ्गलमा साइकलमा चतराबाट घरतर्फ जाँदै गरेका वडा नं. ७ बाङ्गे बस्ने २२ वर्षीय लक्ष्मण भट्टराईलाई चक्कु देखाएर भिभो कम्पनीको एक थान मोबाइल लुटेर भागेको सूचना पाएपछि  प्रहरीले उनीहरूलाई वडा नं. २ को नमुना टोलबाट पक्राउ गरी आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा राखिएको इन्स्पेक्टर दत्तले बताए ।

लुट्ने क्रममा शेर्पा र तामाङले चलाएको चक्कुले भट्टराईको देब्रे गालामा सामान्य चोट लागेको प्रहरीले जानकारी दिएको छ ।