धरान । झापा प्रहरीले विभिन्न स्थानबाट ब्राउनसुगरसहित पाँचजनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापाको दमक नगरपालिका–१ स्थित लाफा होटलबाट चारजनालाई ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

ब्राउनसुगर कारोबार भइरहेको सूचनाको आधारमा इलाम चुलाचुली गाउँपालिका–४ का ३२ वर्षीय वीरबहादुर लिम्बूलाई पक्राउ गरिएको हो । उनको साथबाट ९ ग्राम ब्राउनसुगर बरामद गरिएको छ । त्यस्तै दमक नगरपालिका–३ की २४ वर्षीया प्रेमकुमारी तामाङ, सोही ठाउँकी १९ वर्षीया दीक्षा योगी र इलाम फाकफोकथुम गाउँपालिका घर भई हाल दमक ९ बस्ने ३३ वर्षीय विदुर पौडललाई पक्राउ गरिएको हो ।

उनीहरूको साथबाट विभिन्न कम्पनीका मोबाइल बरामद गरिएको छ । त्यस्तै झापाको मेचीनगर नगरपालिका–६ बाट ३० वर्षीय प्रल्हाद कार्कीलाई पक्राउ गरिएको छ । उनको साथबाट ब्राउनसुगर १ ग्राम ५ सय मिलिग्राम बरामद गरिएको छ ।

शनिबार इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको टोलीले पक्राउ गरेको हो । नियन्त्रणमा लिएकाहरूलाई प्रहरी हिरासतमा राखी अनुसन्धान भइरहेको जनाएको छ ।