सुनसरी । खुल्ला सीमाका कारण लागूऔषध कारोबार बढेसँगै सुनसरी प्रहरीलाई सुरक्षा चुनौती थपिँदै गएको छ । खासगरी सुनसरीको सीमावर्ती क्षेत्रहरूमा लागूऔषधको कारोबार बढेको प्रहरीले जनाएको छ ।

सीमावर्ती क्षेत्र लौकही, भण्टाबारी, घुस्की, कप्तानगञ्ज, लाही, श्रीपुरसहितका नाका प्रयोग गरी दिनहुँजसो लागूऔषध प्रयोगकर्ता र कारोबारी पक्राउ पर्ने गरेका छन् । विगत ६ महिनामा ६७ जना लागूऔषध कारोबारी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी राजकुमार राईका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म विभिन्न प्रकारका लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा ६१ वटा मुद्दामा ६४ जना पुरुष र ३ जना महिला गरी जम्मा ६७ जनालाई नियन्त्रणमा लिएको हो । यसैगरी लागूऔषध कारोबारमा संलग्न रहेको भन्दै प्रहरीले ६ वटा मोटरसाइकल र एउटा चारचक्के सवारीसाधन नियन्त्रणमा लिई आवश्यक कानूनी कारबाही अगाडि बढाएको देखिन्छ ।

सुनसरीबाट आर्थिक वर्ष २०७९/०८० सालमा विभिन्न लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा १ सय ७३ वटा मुद्दामा २ सय २४ जना पुरुष र १३ जना महिला गरी २ सय ३७ जना पक्राउ परेका थिए भने ३५ वटा मोटरसाइकल र ६ वटा चारचक्के सवारीसाधन बरामद गरिएको थियो ।

यसैगरी नेपाली बजारबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले ७ सय २५ केजी १ सय ५० ग्राम गाँजासँगै ८७ ग्राम २ सय मिलिग्राम ब्राउनसुगर, भारतीय बजारबाट लुकाएर ल्याइएको नेपालमा प्रतिबन्धित लागूऔषध नाइट्रोजन ६ सय ४४ ट्याब्लेट, स्पास्मोप्रोक्सिभन ९ सय ३ क्याप्सुल, स्पास्पेन १ हजार ७ सय १६ ट्याब्लेट, ट्रामाडोल २ हजार ७ सय ७५ ट्याब्लेट, नाइट्रोजेपाम ९ सय १७ ट्याब्लेटलगायत ठूलो मात्रामा लागूऔषधसमेत बरामद गरिएको प्रवक्ता राईले जानकारी दिए ।

नेपाली युवाहरू भारतको भीमनगर, वीरपुर, फुल्काहालगायतका  बजारमा गएर दिनहुँ लागूऔषध सेवन गर्ने र चेकजाँचमा पक्राउ पर्नेहरूलाई एसएसबीले नियन्त्रणमा लिई घण्टौंपछि मात्र छाड्ने गरेको छ ।