झापा । कम्बोडियाको आगलागी घटनामा परी मृत्यु भएका बिर्तामोड नगरपालिका–१ का निराकार पाण्डेको शव शनिबार झापास्थित निवासमा ल्याइएको छ ।
कम्बोडियाको ग्राण्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा गत पुस १४ गते राति भएको भीषण आगलागीमा ज्यान बचाउन १२ औँ तलाको झ्यालबाट हाम्फाल्दा उनको मृत्यु भएको थियो ।
शुक्रबार कम्बोडियाबाट काठमाडौँ ल्याइएको उनको शव शनिबार दिउँसो बिर्तामोडस्थित निवासमा पुर्याइएको हो । युवा व्यवसायी पाण्डे भिजिट भिसामा थाइल्यान्ड र कम्बोडिया गएको अवस्थामा उक्त घटना भएको थियो ।
उनको शव निवासमा ल्याइने खबर थाहा पाएर शनिबार बिहानैदेखि पाण्डे निवासमा हजारौँ स्थानीयको भीड लागेको थियो । पाण्डेको शव ल्याउन नेपाल सरकारले सहयोग गरेको छ ।
घटनालगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाण्डेको मृत्युमा गहिरो शोक व्यक्त गर्दै शव ल्याउन सरकारले सहयोग गर्ने बताएका थिए ।