धरान । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० खोर्सानेमा स्कुटरको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ ।
को.३४ प ७२५१ नम्बरको स्कुटरको ठक्करबाट सोही ठाउँका ३८ वर्षीय पूर्णबहादुर गुरुङको ज्यान गएको प्रहरीले जनाएको छ । उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको स्कुटरले गुरुङलाई बिहीबार साँझतिर ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका उनलाई तत्काल विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो । उपचारको क्रममा शुक्रबार बिहान ४ बजेर २५ मिनेटमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्कुटर चालक ३५ वर्षीय ललित उराँव पनि सामान्य घाइते भएका छन् । उनको पनि नोबेल अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए ।
स्कुटर चालकसँग सवारी चालक अनुमति पत्र पनि नभएको प्रहरीले जनाएको छ । उनलाई प्रहरीको निगरानीमा उपचार भइरहेको छ । तीव्र गतिका कारणले दुर्घटना भएको प्रहरीको दाबी छ । स्कुटरलाई ट्राफिक प्रहरी पोष्ट सुन्दरहरैंचामा राखिएको छ ।