भद्रपुर । झापा गाउँपालिकाले पालिकाभित्र रहेका सामुदायिक विद्यालयका ४६० जना विद्यार्थीलाई एक÷एक थान साइकल निःशुल्क उपलब्ध गराएको छ । गाउँपालिकाले कक्षा–९ मा अध्ययनरत् सबै विद्यार्थीलाई साइकल वितरण गरेको हो ।

 पालिकाभित्र पाँचवटा माध्यमिक विद्यालय रहेको र त्यहाँ अध्ययनरत् विद्यार्थीलाई आवात–जावतमा सहजताका लागि गाउँपालिकाले साइकल उपलब्ध गराएको गाउँपालिका अध्यक्ष जयनारायण साहले बताए । साइकल नभएकै कारण विद्यालय जानबाट बञ्चित विद्यार्थीको कुरा सुनेपछि २०७५ सालबाटै गाउँपालिकाले साइकल वितरण सुरु गरेको उनले जनाए । सुरुका वर्ष कक्षा–९ मा अध्ययनरत छात्रालाई मात्र साइकल वितरण गरिए पनि यो वर्षबाट छात्रलाई पनि साइकल वितरण सुरु गरिएको उनले जानकारी दिए । 

गाउँपालिकाले जनता मावि, डिल्लीराज मावि, जनकल्याण मावि, कुवाडीदेवी मावि र महेन्द्र माविका विद्यार्थीलाई एकैसाथ डिल्लीराज माविमा बुधबार आयोजित कार्यक्रमबीच साइकल वितरण गरेको जनाए । १९५ छात्रा र २६५ जना छात्रलाई साइकल वितरण गरेको गाउँपालिकाकी उपाध्यक्ष अञ्जुदेवी थपलियाले बताइन् । गाउँपालिकाले साइकल वितरणका लागि ३५ लाख रुपैयाँ विनियोजन गरेको उनले जनाइन् । 

अर्को तर्फ गाउँपालिकाभित्र रहेका विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययन गर्न हरेक वर्ष १२ हजार रुपैयाँ सहयोग सुरु गरेको छ । उच्च शिक्षा अध्ययनको क्रममा कुनै पनि विद्यार्थीले प्राविधिक विषय लिएर अध्ययन गर्न चाहे प्रोत्साहन स्वरुप गाउँपालिकाले १२ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको गाउँपालिकाले जनएको छ ।

पढाइप्रति प्रेरित गर्न विद्यार्थीलाई प्रोत्साहन रकम दिन सुरु गरेको जनाइएको छ । विद्यार्थी डाक्टर, इन्जिनियर, नर्स या ल्याब टेक्निसियन जुनसुकै विषय अध्ययन गरे गाउँपालिकाले १२ हजार रुपैयाँ प्रोत्साहन स्वरुप रकम उपलब्ध गराउने उल्लेख छ । यो वर्ष भने गाउँपालिकाले पालिकाभित्र रहेका सामुदायिक विद्यालयका विद्यार्थीलाई एक÷एक थान साइकल निःशुल्क उपलब्ध गराएको हो । साइकल पाएपछि विद्यार्थीहरु उत्साहित देखिएका थिए ।