विराटनगर । प्रदेश १ का १४ जिल्लाका २७ वटा सामुदायिक विद्यालय उत्कृष्ट विद्यालयमा सूचीकृत भएका छन् ।

जसमा १४ वटा मावि र १३ वटा आधारभूत विद्यालय प्रदेश १ का उत्कृष्ट सामुदायिक विद्यालयमा सूचीकृत गरिएको सामाजिक विकास मन्त्रालय प्रदेश १ का सचिव वासुदेव दाहालले जानकारी दिए । प्रदेशको प्रत्येक जिल्लाका १–१ मावि उत्कृष्ट विद्यालयमा परेका छन् । आधारभूततर्पm १३ जिल्लाका १३ वटा विद्यालय उत्कृष्ट सूचीमा परेका छन् । मावितर्फ ३२ वटा सूचक र आधारभूततर्फ ३० वटा सूचक पूरा गर्ने विद्यालयलाई उत्कृष्ट व्यवस्थापन भएको विद्यालयको रूपमा सूचीकृत गरिएको सचिव दाहालले बताए ।

यसरी मावितर्फ उत्कृष्ट हुने विद्यालयमा मोरङबाट विराटनगर–३ मा रहेको पोखरीया मावि परेको छ । पोखरीया माविका प्रधानाध्यापक खेमराज भट्टराई रहेका छन् । यहाँ भर्ना हुन विद्यार्थीहरूले प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्छ ।

यसैगरी ताप्लेजुङको फुङ्लिङ नगरपालिका–४ को भानुजन मावि, पाँचथरको फिदिम नगरपालिका–१ को फिदिम मावि, इलामको देउमाई नगरपालिका–४ मा रहेको भानुभक्त मावि उत्कृष्ट विद्यालय घोषित भएका छन् ।

यसैगरी सुनसरीको इटहरी उपमहानगरपालिका–९ मा रहेको जनता मावि, धनकुटाको साँगुरीगढी गाउँपालिका–५ मा रहेको भानु मावि, तेह्रथुमको लालीगुराँस नगरपालिका–२ वसन्तपुरमा रहेको वसन्त मावि, भोजपुरको साल्पासिलिछो गाउँपालिका–१ मा रहेको वीरेन्द्र मावि, सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ मा रहेको मनकामना रत्न अम्विका मावि, सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–४ मा रहेको केदार मावि, ओखलढुङ्गाको मोलुङ गाउँपालिका–२ मा रहेको बरुणेश्वर मावि, खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ मा रहेको जनजागृति मावि र उदयपुरको चौदण्डीगढी नगरपालिका–९ मा रहेको जनता मावि उत्कृष्ट विद्यालयमा सूचीकृत भएको सामाजिक विकास मन्त्रालयले जानकारी गराएको छ ।

यसैगरी आधारभूत विद्यालयतर्फ मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटमा रहेको रवि आधारभूत विद्यालय उत्कृष्ट विद्यालयमा परेको छ । यो विद्यालयका प्रधानाध्यापक जितेन्द्रकुमार सरदार रहेका छन् । २०४५ सालमा स्थापना भएको रवि आधारभूत विद्यालयमा ४ सय १८ जना विद्यार्थीहरू अध्ययनरत छन् । यहाँ अध्ययनरत सम्पूर्ण विद्यार्थीहरू दलित सामुदायका रहेका छन् । नर्सरीदेखि कक्षा कक्षा पाँचसम्म अङ्ग्रेजी माध्यमबाट पठन–पाठन सुरु भएपछि विद्यार्थीको आकर्षण रहेको छ । नर्सरीमा मात्र ८० जना विद्यार्थी अध्ययनरत रहेका छन् । यो सङ्ख्या नर्सरीमा अध्ययनरत गर्ने प्रदेश १ भरिको सामुदायिक विद्यालयभन्दा बढी हो ।

यसैगरी आधारभूततर्फ उत्कृष्ट हुने विद्यालयहरूमा ताप्लेजुङको पाथीभरायाङ्वरक गाउँपालिका–१ मा रहेको हिमालय आवि, पाँचथरको फाल्गुनन्द गाउँपालिका–२ मा रहेको त्रिभूवन आवि, इलामको सूर्योदय नगरपालिका–११ मा रहेको भवानी आवि, झापाको हल्दीबारीमा गाउँपालिका–३ मा रहेको गरमकाली आवि रहेको छ ।

यस्तैगरी सुनसरीको वराहक्षेत्र नगरपालिका–२ मा रहेको जलदेवी आवि, धनकुटाको चौबिसे गाउँपालिका–३ मा रहेको जनकल्याण आवि, तेह्रथुमको म्याङ्लुङ नगरपालिका–६ मा रहेको सरस्वती आवि, भोजपुरको भोजपुर नगरपालिका–७ मा रहेको जनसेवा आवि, सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ मा रहेको लक्ष्मी आवि, सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–४ मा रहेको वासुकी आवि, खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० मा रहेको जाल्पा आवि र उदयपुरको त्रियुगा नपा–१३ मा रहेको जनप्रेमी आवि उत्कृष्ट विद्यालय भएका छन् ।