धरान । जङ्गलमा भेटिएको ग्रिनेट खेलाउने क्रममा पड्केर पाँचथरको फाल्गुनन्द गाउँपालिका–४ चिलिङ्दिनमा ८ वर्षीय बालक घाइते भएका छन् ।
प्रहरीका अनुसार शनिबार बिहान ग्रिनेट पड्किँदा स्थानीय मनोज खड्काका छोरा निरज खड्का घाइते भएका हुन् । इलामको फाकफोकथुम–१ र पाँचथरको फाल्गुनन्द गाउँपालिका–४ को सिमानामा पर्ने पुरानो पञ्चमी बजारदेखि केही तल पर्ने जङ्गलमा दाउरा खोज्ने क्रममा हरियो डल्लो ग्रिनेट भेटिएको थियो ।
त्यसलाई खेलाउने क्रममा विस्फोट भएको प्रहरीले जनाएको छ । बालकको दायाँ छाती, पेट र अनुहारमा चोट लागेको छ । उनलाई उपचारका लागि झापातर्फ पठाइएको प्रहरीले जनाएको छ ।
खिया लागेको अवस्थामा भेटिएको ग्रिनेट द्वन्द्वकालीन समयमै छोडिएको हुनसक्ने प्रहरीको अनुमान छ ।