फुटबलको महासङ्ग्राम ‘विश्वकप’ ले युवापुस्तालाई छुँदा वयस्क पुस्ता भने आम निर्वाचनको मतपरिणामको धङ्धङीमा छन् । 


विजयपुर । मङ्सिर ४ गते २२ औँ विश्वकप फुटबल सुरु हुँदा नेपालमा आम निर्वाचन सम्पन्न भयो । एकातिर मतपरिणामको छट्पटी छ भने अर्कातिर फुटबलको हुट्हुटी नै छ । 

युवापुस्ता फुटबलमा व्यस्त छन् भने वयस्कपुस्ता मतपरिणामको पर्खाइमा छन् । यतिबेला विश्वकप फुटबलको पहिलो चरणको खेल सम्पन्न भइसकेको छ भने दोस्रो चरणको खेल जारी छ । यता आम निर्वाचनको मत परिणामको अन्तिम टुङ्गो लाग्ने अवस्था छ । ठूलो दल कुन होला भन्ने छट्पटीका बेला अर्कातिर विश्वकपको अन्तिम १६ मा को पुग्ला भन्ने हुट्हुटी छ । विश्वकपमा यसपटक सोचेभन्दा फरक परिणाम आइरहँदा चुनावमा पनि त्यस्तै परिणाम आइरहेको छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ चौथो हुने र समानुपातिकतर्फ तेस्रो हुने सम्भावना बढेको छ । अर्कातिर फुटबलको महासङ्ग्राममा अर्जेन्टिना र जर्मनीजस्ता हस्ती देशहरू पहिलो चरणमै पराजय भोग्दा अब के हुने भन्ने कौतुहलताले युवा पुस्तालाई पिरोलेको छ । किनकि नेपालका अधिकांश युवापुस्ताले मन पराउने टिममध्येअर्जेन्टिना र जर्मनी हुन् । 

युवापुस्ताको नेतृत्व गर्ने धरान–८ का विसन राई निर्वाचनको मतपरिणामभन्दा विश्वकप फुटबलमा बढी चासो रहेको सुनाउँछन् । उनी भन्छन्, ‘फुटबलमा सानैदेखि चासो राखियो । अहिले विश्वव्यापी चर्चामा रहेको प्रतियोगिता हो । त्यसैले हामी पनि लागेका छौँ । निर्वाचनको मतलव छैन ।’ नेपालमा अर्जेन्टिना, ब्राजिल, जर्मनी, पोर्चुगल, फ्रान्स र इङ्ल्यान्डको समर्थन गर्नेहरूको बाहुल्यता छ । त्यसमा पनि अर्जेन्टिनाका फ्यान फलोइङको सङ्ख्या धेरै छ । अझ धरानमा त अर्जेन्टिनाका फ्यानहरू धेरै छन् । यतिबेला आफ्नो सवारी साधनमा अर्जेन्टिनी झण्डा राखेर दौडिनेहरूको पनि कमी छैन । राष्ट्रलाई समर्थन गर्नेहरूले त्यही देशको जर्सी लगाउने गरेका छन् । यतिबेला युवापुस्ताको ध्यान मुलुकको नीति निर्माण तहको निर्वाचनमा भन्दा पनि विश्वकप फुटबलमा तानिएको देखिन्छ । १८ वर्षीय राई भन्छन्, ‘आफू अर्जेन्टिनाको समर्थक परियो, जर्सी पनि किनेको छु ।’

यस्तै धरान–१५ का प्रदीप अधिकारी पनि निर्वाचनभन्दा विश्वकप फुटबलमा चासो राख्छन् । उनी भन्छन्, ‘निर्वाचनको मतपरिणामको पनि चासो छ तर, विश्वकप जति छैन ।’ उनी विश्वकप फुटबल हेर्नकै लागि ५ सय ६५ रुपैयाँ तिरेको बताउँछन् । अधिकारी ब्राजिलका समर्थक हुन् । उनका अनुसार धेरै युवा यतिबेला निर्वाचनमा भन्दा विश्वकपमा झुमेका छन् । फुटबलका फ्यानहरू यतिबेला सट्टेबाजीसमेत खेल्ने गरेका छन् । यस्तै धरान–७ का मिराज राई विश्वकप चासोको विषय भएको बताउँछन् । उनी भन्छन्, ‘४ वर्षमा एकपटक हुन्छ । विश्वका उत्कृष्ट खेलाडीहरूले भरिभराउ हुने भएकाले चासो नहुने कुरा भएन ।’ वयस्क पुस्ताले भने निर्वाचनको मत परिणाममा कसले जित्ला र को माथि आउला भन्नेमा बढी चासो राखेका छन् । धरान–१७ का भक्ति विश्वकर्मा विश्वकप फुटबलको विषयमा खासै चासो नभएको बताउँछन् । उनी भन्छन्, ‘मतपरिणाम आइरहेको छ । कस्ता व्यक्ति निर्वाचित हुने हुन्, यसमा चासो छ ।’ यता धरान–५ का ५० वर्षीय तारा मगरनिर्वाचनको परिणाममा चासो भएको बताउँछन् ।