सुनसरी । विभिन्न माध्यमबाट नेपाली गाँजा भारततर्फ तस्करी गराउने गिरोह सक्रिय रहेकोे पाइएको छ ।

पहाडी जिल्लाबाट ल्याइने गाँजा रातिको समयमा कहिले डुङ्गाको सहायताले सप्तकोसी नदी हुँदै त कहिले अन्य माध्यमबाट भारततर्फ कटाउने गरिएको हो । सोही क्रममा निर्वाचन सुरक्षामा खटिएका सशस्त्र प्रहरीले बुधबार बिहानै तरकारी बोकेको गाडीबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ ।

सीमा सशस्त्र प्रहरी बल सुनसरीका प्रमुख एसपी विक्रम होमागाईंका अनुसार धनकुटाबाट तरकारी बोकेर जनकपुरतर्फ जाँदै गरेको गाडीबाट गाँजा बरामद भएको हो । कोसी गाउँपालिका वडानम्बर ३ नहर चोकस्थित पूर्व–पश्चिम राजमार्गमा को.१ च ८५२५ नम्बरको पिकअपमा खानतलासी गर्दा २ सय १७ केजी गाँजा बरामद गरिएको उनले बताए ।

एसपी होमागाईं र सीमा सुरक्षा बल बेसक्याम्प भुटाहा कार्यरत भई निर्वाचन सुरक्षाका लागि खटिएका इन्स्पेक्टर भूपेन्द्रकाजी निरौला नेतृत्वको संयुक्त टोलीले गाँजा बरामद गरेको थियो । उक्त पिकअपमा गाँजासँगै बन्दाकोपी लोड गरिएको थियो ।

माथिबाट बन्दाकोपीले छोपेर ८ वटा बोराभित्र प्याक गरी लैजाँदै गरेको अवस्थामा गाँजा गरिएको एसपी होमागाईंले जानकारी दिए । सशस्त्र प्रहरीले पिकअपसहित गाँजा बरामद गरे पनि चालक फरार रहेकोले खोजी भइरहेकोे सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएको गाँजाअपसहित पिकअप आवश्यक कारबाहीको लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ ।

विभिन्न समयमा सीमावर्ती क्षेत्रहरूबाट गाँजा बरामद हुँदा अझै पनि सुनसरीका विभिन्न सीमा नाका हुँदै गाँजा तस्करी हुने गरेको पुष्टि हुन्छ ।

केही महिनाअगाडि सशस्त्र प्रहरी बल बेसक्याम्प भारदहबाट खटिएको सशस्त्र प्रहरी टोलिले अदुवामा लुकाएर मिनी ट्रकमा लाँदै गरेको अवस्थामा पूर्व–पश्चिम राजमार्गस्थित सप्तरी जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित कोसी ब्यारेजबाट चेकजाँचको क्रममा ७ पोका अर्थात् १ सय ७५ केजी  गाँजा बरामद गरेको थियो ।

त्यस्तै कोसी नदीको बाटो हुँदै लगिएको १ सय १० केजी गाँजासहित भारतीय एसएसबीले एकजना तस्करलाई नियन्त्रणमा लिएको थियो । तस्करहरूले पहाडी जिल्लाबाट गाँजा ल्याई भारततर्फ तस्करी गराउने उद्देश्यले सुनसरी, सप्तरी र उदयपुरको बाटो प्रयोग गर्दै आएका छन् । कोसी नदीको फाइदा उठाउँदै पहाडी जिल्लाबाट ल्याई भारततर्फ गाँजा तस्करी हुने गरेको हो ।

कोसी नदीमा चल्ने डुङ्गा र बाँस कारोबार गर्नेहरूले पहाडी जिल्लाबाट सुनसरीमा गाँजा भिœयाउने र सुनसरी हुँदै गाँजा भारततर्फ तस्करी गर्ने गरिएको छ । खुल्ला सीमाका कारण लागूऔषध र गाँजा कारोबार पूर्णरूपमा रोकथाम गर्न चुनौती देखिएको बताउँदै एसपी होमागाईंले यद्यपि पछिल्लो समय सीमा निगरानी बढाइएको हुँदा गाँजा बरामद हुने क्रम बढेको बताए ।