धरान । फिफा विश्वकप २०२२ को सोमबार साँझ सम्पन्न समूह ‘बी’ को पहिलो खेलमा इङ्ल्यान्डले इरानलाई ६–२ गोलले पराजित गर्दै  विजयी सुरुवात गरेको छ ।

खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न खेलमा इङ्ल्यान्डको जितका लागि बुकायो साकाले दुई तथा ज्युड वेलिङ्गाम, राहिम स्टर्लिङ, मार्कस रासफर्ड र ज्याक ग्रिलिसले एक–एक गोल गरे । इरानका मेदी तारेमीले २ गोल फर्काएका थिए । जितसँगै इङ्ल्यान्डले समूह ‘बी’ मा तीन अङ्क जोडेको छ ।

खेलको ३५ औँ मिनेटमा वेलिङ्गामको गोलमा सुरुवाती अग्रता लिएको इङ्ल्यान्डका साकाले ४४ औँ मिनेटमा अग्रता दोब्बर बनाएका थिए । त्यसको एक मिनेट नबित्दै स्टर्लिङले गोल गर्दै पहिलो हाफमा इङ्ल्यान्डलाई ३–० को अवस्थामा पु¥याएका थिए । खेलको सुरुवातदेखि नै एसियन टिममाथि हाबी भएको इङ्ल्याण्डले दोस्रो हाफमा तीन गोल थप्यो ।

साकाले ६२ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमका लागि चौथो गोल गरे । इरानका तारेनीले ६५ औँ मिनेटमा पहिलो गोल फर्काएका थिए ।

रासफोर्डले ७१ औँ मिनेटमा गोल गर्दै इङ्ल्यान्ड अग्रता फराकिलो पारे । ग्रिलिसले निर्धारित समयको अन्तिम मिनेटमा गोल गर्दै इङ्ल्यान्ड जित ६–१ ले सुनिश्चित गरे । इन्जुरी समयको अन्त्यतिर पाएको पेनाल्टीको सदुपयोग गर्दै तारेमीले दोस्रो गोल गरे पनि इरानको जितका लागि पर्याप्त बन्न सकेन ।

आयोजक कतार विश्वकपको उद्घाटन खेलमा पराजित
आइतबार राति भएको उद्घाटन खेलमा कतारलाई इक्वेडरले २–० गोलले हराएको हो । इक्वेडरका लागि दुवै गोल इनर भ्यालेन्सियाले गरे । उनले खेलको १६ औं मिनेटमा पेनाल्टीमार्फत् पहिलो गोल गरेका थिए भने ३१ औं मिनेटमा अग्रता दोब्बर पारेका थिए ।

समूह ‘ए’ को यो खेलमा जित हात पारेसँगै इक्वेडर तीन अङ्क जोड्न सफल भएको छ । पराजय भोगेसँगै कतार पहिलो खेल  गुमाउने आयोजक बनेको छ ।