विजयपुर । आन्तरिक राजस्व कार्यालय धरानले एघारौँ राष्ट्रिय कर दिवस बनाउन सुरु गरेको छ ।

‘स्वेच्छिक सहभागितासहितको फराकिलो कराधारः दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार’ नारासहित दिवस सुरु भएको हो । बुधबार धरान नगर परिक्रमासहित दिवस मनाउन सुरु गरिएको छ ।

आन्तरिक राजस्व कार्यालय धरानदेखि भानुचोक, माछाभौडी, पुरानो बजार हुँदै आन्तरिक राजस्व कार्यालयसम्म प्रभात फेरी गरिएको थियो । प्रभात फेरीमा सुनसरी उद्योग वाणिज्य सङ्घ, वस्तुगत सङ्घ, उद्योगी, व्यापारी, कर सहयोगी श्रमिक सङ्गठन, अडिटर एसोसिएसनलगायत  व्यवसायीहरूको सहभागिता रहेको थियो ।

आन्तरिक राजस्व कार्यालय धरानका प्रमुख कर अधिकृत गोविन्द आचार्यले आम निर्वाचनका कारणले ७ दिनसम्मको दैनिक कार्यक्रम नराखेको बताए । उनका अनुसार मङ्सिर ६ गते उद्योग वाणिज्य सङ्घ र निजी क्षेत्रसहितको सहभागितामा ब्याडमिन्टन र म्युजिकल चियर प्रतियोगिता हुनेछ ।

मङ्सिर ७ गते प्रतियोगिताका विजेता, धनकुटा, भोजपुर, सङ्खुवासभालगायत सेवा क्षेत्रका अधिकतम कर योगदान गर्ने करदातालाई पुरस्कृत र उत्कृष्ट कर्मचारीलाई सम्मान गर्ने प्रमुख कर अधिकृत आचार्यले जानकारी दिए । कर सप्ताहको धरान नगर प्रमुख हर्कराज राईले उद्घाटन गरेका थिए ।