बेलबारी ।  बैँकहरुले चर्को ब्याजदर निर्धारण गरेर ब्यबसायीहरुको ढाड सेकेको भन्दै बेलबारी ब्यबासायीहरु आन्दोलित भएका छन । 

 ब्यबसायीहरुले बिहिबार दिउँसो उच्च बैँक ब्याजदर तथा प्रतिकुल बैकिङ नितिहरु बिरुद्ध उद्योगी ब्यबसायी र आम सर्बसाधारण सहितको बृहत बिरोध जुलुस समेत निकालेर बिरोध गरेका छन् । 

जुलुस बेलबारी ३ पुरानो मालपोतबाट शुरु भएर दुर्गा मन्दिर हुँदै राष्ट्रिय बाणिज्य बैँक अगाडी पुगेर कोणसभामा परिणत भएको थियो । बेलबारी उद्योग बाणिज्य संघ र उत्तरी मोरङ होटल ब्यबसायी संघको आयोजनामा भएको कार्यक्रममा ब्यबसायीहरु प्ले कार्डसहित नाराबाजी गर्दै बिरोधमा उत्रिएका थिए ।

बैक ब्याज साह्रो भयो,कारोबार गर्न गाह्रो भयो,ब्यापार गर्ने स्वच्छ बाताबरण बनाई दे,चर्को ब्याजदर बन्द गर,बैँक ब्याज एक अंकमा झारी दे,ओडी र डिमाण्ड लोन साबिक बमोजिम नबिकरण गर, लगायतका नारा लेखिएका प्ले कार्ड सहित ब्यबसायीहरुले प्रर्दशन गरेका थिए । 

ब्यापार ब्यबसाय चौपट भएको समयमा बैँकहरुले ब्याज बृद्धि गर्दा ब्यबसायीहरु थला परेको र उठनै नसक्ने गरि बोझ थपिएको बेलबारीका पर्यटन ब्यबसायी बिजय सुवेदीले गुनासो गरे । उनले बैँकहरुले बढाएको ब्याज तत्काल फिर्ता लिन र ब्यबसायीहरुलाई सहज किसिमले ब्यबसाय गर्ने बाताबरण मिलाउन समेत उनले आग्रह गरे ।