धनकुटा । धनकुटाको डाँडा बजारमा एक दिने बृहत् कृषि प्रदर्शनी मेला शनिबार सम्पन्न भएको छ ।

साँगुरीगढी गाउँपालिका ५ नं. वडा कार्यालयको आयोजनामा बृहत् कृषि मेलाको आयोजना गरिएको हो । निर्वाहमुखी खेती प्रणालीलाई व्यावसायिक खेतीमा रूपान्तरण गर्नका लागि कृषकलाई पे्ररित गर्न कृषि मेला आयोजना गरिएको वडा नं. ५ का अध्यक्ष खड्ग थेगिम लिम्बूले बताए ।

साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईको प्रमुख आतिथ्यमा सम्पन्न प्रदर्शनीमा बोल्ने वक्ताहरूले निर्वाहमुखी र परम्परागत कृषि प्रणालीले किसानको जीवनस्तर नउठ्ने ठोकुवा गरे । उनीहरूले कृषिमा यान्त्रिकरण गर्नसके मात्र कृषिमा आमूल परिवर्तन गरी किसानलाई आत्मनिर्भर बनाउन सकिने बताए ।

गाउँपालिका अध्यक्ष रुम्दालीले भने, ‘यस्ता खाले कृषि मेलाले गाउँ–गाउँमा खेतीपाती गरेर जीविकोपार्जन गरिरहेका किसानलाई प्रोत्साहन मिल्छ ।’ उनले कृषि मेलालाई आगामी दिनमा पनि निरन्तरता दिन वडा कार्यालयलाई आग्रह गरे ।

कृषकका उत्पादनलाई विभिन्न विधामा पुरस्कारको लागि मूल्याङ्कन गरिएको थियो । कृषिउपजका विधाहरूमा नगदे बाली, तरकारी बाली, फलफूल बाली, खाद्यान्न बाली, दलहन बालीलाई छुट्टाछुट्टै रूपमा प्रदर्शनी गरिएको थियो । प्रदर्शनीमा राखिएका कृषि सामग्रीको मूल्याङ्कन गरी प्रथम, दोस्रो, तेस्रो, चौथो र सान्त्वना स्थान प्राप्त गर्ने कृषकलाई पुरस्कृत गरिएको थियो ।

गाउँ विकास कार्यक्रम सामुदायिक विकास कोषको समेत स्थानीय व्यवस्थापनमा सम्पन्न भएको कृषि मेला प्रदर्शनीमा तरकारी बाली १ सय ५२ प्रजाति, फलफूल ५० प्रजाति, अन्नबाली १९ प्रजाति, मसला बाली २१ प्रजाति र दलहन बाली १६ प्रजातिका बालीहरू राखिएको थियो ।

गाउँ विकास कार्यक्रमका संयोजक भीमशङ्कर काफ्लेले कृषि मेला प्रदर्शनीमा वडाभित्रका २ सय ५८ विभिन्न प्रजातिका ५ समूहका बालीहरू कृषकहरूले ल्याएको बताए । कृषि प्रदर्शनीमा कृषिउपजका वस्तुहरू ल्याएर सहभागिता जनाउने कृषिकहरूलाई नगदसहित पुरस्कृत गरिएको थियो ।

प्रमाण–पत्रसहित पुरस्कृत हुनेहरूमा अन्नबालीतर्फ प्रथम सोवितमान देवान, दोस्रो डिल्लीश्वर विश्वकर्मा, तेस्रो दिलकुमारी लिम्बू र सान्त्वना सीता घिमिरे रहेका छन् । त्यसैगरी तरकारी बालीतर्फ रामकुमारी राई प्रथम, लालमाया लिम्बू दोस्रो, सीता लिम्बू तेस्रो र नरवीर विकले सान्त्वना पुरस्कार पाए । मसला बालीतर्फ विक्रम लिम्बू प्रथम, रामकुमार याक्खा दोस्रो, दीपा राई तेस्रो र ताराहाङ लिम्बूले सान्त्वना पुरस्कार पाए ।

दलहन बालीतर्फ भद्रिका लिम्बू प्रथम, कविराज लिम्बू दोस्रो, खेमराज लिम्बू तेस्रो र नर्वदा लिम्बूले सान्त्वना पुरस्कार पाएका छन् । त्यसैगरी फलफूल बालीतर्फ तारामाया याक्खा प्रथम, भीमराज लिम्बू दोस्रो, माला याक्खा तेस्रो र नरमाया लिम्बूले सान्त्वना पुस्कार पाएका छन् ।

पुरस्कृत हुनेहरूलाई गाउँपालिका अध्यक्ष रुम्दालीले नगदसहित प्रमाण–पत्र प्रदान गरे । हरेक विधामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई जनही १५ सय, १२ सय, ८ सय र ५ सय नगदसहित प्रमाण–पत्र प्रदान गरिएको थियो । प्रतियोगितामा सहभागी उत्कृष्ट २३ कृषकहरूलाई पनि नगद पुरस्कार प्रदान गरिएको थियो ।

pic-3

pic-5