बिर्तामोड । झापाको बिर्तामोडमा प्रधान कार्यालय रहेको धौलागिरी पारिजात बहुउद्धेश्यीय सहकारी संस्थाले एक वर्षको अवधिमा २५ करोड ९ लाख ८६ हजार २ सय ३९ रुपैयाँ कारोबार रकम बढाएको छ । बजारमा तरलता अभावको असरका बीच संस्थाले कारोबार रकम बढाएको हो ।
आर्थिक वर्ष ०७७/७८ मा ५३ करोड १९ लाख ७१ हजार ८ सय ६८ रुपैयाँ कारोबार गरेको सहकारीले गत आ.व.मा ७८ करोड २९ लाख ५८ हजार १ सय ७ रुपैयाँको कारोबार गरेको संस्थाले जनाएको छ ।
सहकारीले शुक्रबार बिर्तामोडमा आयोजना गरेको १५ औँ वार्षिक साधारण सभाको माइन्युट प्रमाणीकरण कार्यक्रममा वितरित वार्षिक प्रतिवेदनमा एक वर्षको अवधिमा २५ करोड ९ लाख ८६ हजार २ सय ३९ रुपैयाँ कारोबार रकम बढाएको उल्लेख छ । सो रकम अघिल्लो आ.व.भन्दा ४७.१८ प्रतिशतले बढी हो । सहकारीका अध्यक्ष कृष्ण पौडेलले आगामी चालु आ.व.मा सो रकम बढाएर १ अर्ब पु¥याउने लक्ष्य लिएको बताए ।
सहकारीले ७२ लाख ८४ हजार ३ सय ६५ रुपैयाँ मुनाफा आर्जन गरेको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ । संस्थाको जगेडा तथा अन्य कोषमा २ करोड ३२ लाख १५ हजार ९ सय ११ रुपैयाँ पुगेको छ । गत आ.व.को अन्त्यमा संस्थामा ६ हजार ५ सय ५० जना पुरुष र ५ हजार १ सय ५९ जना महिला शेयर सदस्य रहेको बताइएको छ । शेयर सदस्यहरूबाट ५ करोड ७४ लाख ७९ हजार ४ सय रुपैया शेयर पुँजी जम्मा भएको छ ।
सहकारीले अनिवार्य, बाल, क्रमिक, धौलागिरी विशेष, साधारण, सन्ध्याकालीन, ५ तथा ६ वर्षे नियमित र एकमुष्ठ बचत योजना कार्यान्वयनमा ल्याएको छ । सहकारीले बचत तथा ऋण, सुपथ मूल्यको कृषि सहकारी पसल र सहकारी पसल सञ्चालन गर्दै आएको छ । संस्थामा हाल ३ करोड २७ लाख २२ हजार ९ सय ९२ रुपैयाँ बराबरको अचल सम्पत्ति रहेको छ ।
कार्यक्रममा उत्कृष्ट व्यवस्थापकको रूपमा गोल्धाप सेवाकेन्द्रका व्यवस्थापक शर्मिला सिग्देललाई नगद १२ हजार सहित सम्मान–पत्रले सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट बजार प्रतिनिधिको रूपमा बिर्तामोडबाट चन्द्रकला भट्टराई, विमलाकुमारी अधिकारी, सुनिता राजवंशी र सिस्ने सेवाकेन्द्रकी जानुका प्रसाईं भण्डारीलाई जनही ७ हजार नगद र सम्मान–पत्रले सम्मान गरिएको संस्थाका व्यवस्थापन कर्मचारी सविता ओलीले जानकारी दिइन् ।
कार्यक्रममा बिर्तामोड नगरपालिकाका सहकारी शाखा प्रमुख डिल्लीराम दाहाल, राष्ट्रिय सहकारी बैङ्क बिर्तामोड प्रमुख विवेक डाँगी, बिर्तामोड उद्योग वाणिज्य सङ्घका महासचिव अर्जुनकुमार मैनाली, शिक्षा साकोसका अध्यक्ष सुब्रत न्यौपानेलगायतले शुभकामना व्यक्त गरेका थिए ।
































