संखुवासभा । जिल्लाको सिलिचोङ गाउँपालिकामा ६० किलोवाटभन्दा कम क्षमता भएका लघु जलविद्युतहरु तीनवटा सञ्चालनमा रहेको छ । जसबाट गाउँपालिकाका अघिकांश नागरिकहरुले न्युनतम विद्युत सेवा पाईरहेका छन् । तर यस्ता साना विद्यतुबाट सेवा पाएका स्थानीयहरु समय समय विग्रने र महिनौंसम्म अन्धकारमा बस्नुपर्ने बाध्यतामा छन् भने अर्कोतिर व्यवसायिक उद्योग तथा कलकारखाना सञ्चालन गर्न सकेका छैनन् । यसको समाधान र व्यवसायिक विकासका लागि प्रमुख विकल्प गाउँपालिकाको सबै क्षेत्रमा राष्ट्रिय प्रशारण लाइनको विद्युत पुराउनु नै रहेको स्थानीयको बुझाई छ । 

गाउँपालिकाको वडा नं. ५ याफु र ४ नं.वडा मांतेवाका धेरैजासो टोलहरुमा राष्ट्रिय प्रशारण लाइनको ११ केभिए विद्युतीकरणको काम भई सकेको छ । सो क्षेत्रमा ५ सय ३६ वटा मिटरबक्स जडान गरि गत बर्षबाट नै विद्युत सेवा सञ्चालन भईरहेको छ । नियमित रुपमा विद्युत विस्तारका लागि गाउँपालिकाले माथिल्लो निकायसंग समन्वय गरिरहेको जनाएको छ । यो बर्ष अझ थप विस्तारका लागि विद्युत प्राधिकरणमार्फत योजना अघि बढि सेकेको र अबको केहि बर्षमा नै सबै क्षेत्रमा विद्युत विस्तार हुने अपेक्षा गरिएको सिलिचोङ गाउँपालिका अध्यक्ष भुपालराज मेवाहाङले बताए । 

विद्युत प्राधिकरण मार्फत बजेटको व्यवस्थापन गरि यस बर्ष ९५ लाख बराबरको योजनाको ठेक्का लागि सकेको छ । मांतेवाबाट ताम्कुसम्म उक्त योजनाले विस्तार हुने विद्युत प्राधिकरणले जनाएको छ । सिद्देश्वरी निर्माण सेवाले ठेक्का पारेर गत असार २४ गते नै सम्झौता भई सकेको छ । आगमी २०८० साल असारसम्ममा सम्पन्न गर्ने गरि सम्झौता भई कामको प्रकृया सुरु भईसकेको छ । ठेक्का सम्झौता भएपनि प्राधिकरणको प्रादेशिक कार्यालयबाट सामाग्री ल्याउन समय लाग्ने भएकाले केहि ढिलाई हुने विद्युत प्राधिकरण खाँदबारी वितरण केन्द्रका प्रमुख इन्जीनियर सञ्जीव कर्णले बताए । 

विकासको मेरुदण्डको रुपमा रहेको विद्युत विस्तारमा सरकारले विशेष ध्यान दिईरहेको छ । जसबाट प्राभावित क्षेत्रका नागरिकहरुको दैनिकीमा समेत सहज हुने हुन्छ । सिलिचोङ जस्तो दुर्गम क्षेत्रमा विद्युत विस्तारका काम सालवसाली रुपमा हुनु अत्यन्तै सराहनिय छ । ठेक्का लागेका काम ढिलो हुँदा तोकेको समयमा काम नहुने समस्या समाधानका लागि गाउापालिकाले ताकेता गर्न आवश्यक छ ।